वामदेव बन्लान् त प्रधानमन्त्री ?

१९ बैशाख २०७७, शुक्रबार १०:३५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ।

यो प्रस्तावका दुई पक्ष छन्– एक, प्रधानमन्त्री ओलीलाई देखाएरै अहिलेको उपलब्धि भएको हो भन्ने दाबी आफ्नै प्रस्तावले खण्डित गरेको छ। दुई, ओली शक्तिसंघर्ष बढ्दै गए पद छाड्न तयार हुन्छन्। 

सत्तारुढ दलका शक्तिशाली अध्यक्ष ओलीले एकाएक आफू पदासीन रहेको प्रधानमन्त्री पद गौतमलाई दिने प्रस्तावलाई लिएर नेकपाभित्र विविध कोणमा विमर्श भइरहेको छ। के यथार्थमै गौतमलाई यो पद दिन खोजिएको हो ? प्रधानमन्त्री ओलीका कामकारबाही निकटबाट नियालिरहेका नेताहरू भन्छन्– यो प्रस्ताव विरोधी कित्तामा फुट ल्याउन गरिएको हो। गौतमसँगै वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत तेस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव थियो। 

‘यो प्रस्तावको उद्देश्य नेकपाका अर्का अध्यक्ष पुष्ककमल दाहाललाई अहिलेको ओलीविरोधी मोर्चाबाट एक्ल्याउनु हो,’ नेकपाका एक सचिवालय सदस्यले नागरिकसँग भने, ‘कमरेड गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष भन्नासाथ पासा पल्टिहाल्छ भन्ने हो। स्थिति उहाँ (ओली) ले सोचजस्तो छैन।’

ओलीको यो प्रस्ताव मानेर अहिले भएको मोर्चाबन्दी टुट्ने संकेत कसैले पनि गरेनन्। वरिष्ठ नेता नेपालले प्रस्टसँग आफूनिकट नेताहरूलाई भनेका छन्, ‘म पदका निम्ति हिरिक्क हुने मानिस होइन। तेस्रो अध्यक्ष हुन अहिले म जान्छु ?’

कुनै पदको सौदाबाजीले नेकपाभित्रको अहिलेको विवाद टुंगो लाग्दैन। बरु गौतमलाई प्रधानमन्त्रीका निम्ति प्रस्ताव गरिसकेपछि त्यसले ओली स्वयंलाई भने अप्ठ्यारोमा पार्नेछ।

स्वाभाविक रुपमा प्रधानमन्त्री पद आकर्षक छ। अहिलेसम्म प्रधानमन्त्री बन्न नपाएका गौतमका निम्ति यो प्रस्तावले महŒव राख्छ। तैपनि उनले प्रधानमन्त्रीको प्रस्ताव आउनासाथ प्रस्ट भनेका छन्, ‘पहिले तपाईं पदबाट राजीनमा दिनुहोस्, त्यसपछि प्रधानमन्त्री कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्छ।’

यसबाट प्रस्ट हुन्छ– कुनै पदको सौदाबाजीले नेकपाभित्रको अहिलेको विवाद टुंगो लाग्दैन। बरु गौतमलाई प्रधानमन्त्रीका निम्ति प्रस्ताव गरिसकेपछि त्यसले ओली स्वयंलाई भने अप्ठ्यारोमा पार्नेछ। अहिलेसम्म पूरा समय प्रधानमन्त्री रहने बताउँदै आएका ओलीले गौतमलाई त्यो पद दिने भन्नु आफैंमा आश्चर्यको विषय भएको छ। 

पार्टी कमिटीभित्र यस्तो प्रस्ताव आइसकेपछि त्यसलाई ठट्टाको रुपमा मात्र लिइँदैन। यो स्थितिमा स्थायी कमिटीका बहुमत सदस्यले गौतमलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गरे भने ओली अप्ठ्यारोमा पर्नेछन्। ‘कमरेड गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावको समर्थन गर्न मलाई के आपत्ति’, नेपालले आफूनिकटका नेता तथा कार्यकर्तालाई बताएका छन्। त्यही स्थिति अर्का अध्यक्ष दाहालको पनि छ। गौतमलाई राष्ट्रिसभामा लैजाने मात्र होइन, प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने पक्षमा दाहाल यसअघि नै देखिएका हुन्। 

गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावलाई सचिवालयले गम्भीरतापूर्वक लिँदै पारित गरेको खण्डमा ओलीलाई नै अप्ठ्यारो पर्ने स्थिति छ। नौ सदस्यीय सचिवालयमा ६ जना सदस्य एउटा कित्तामा छन्। अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, गौतम, नेता नारायणकाजी श्रेष्ठ एकातिर छन्। भैंसेपाटी भेलामा सरिक भएका आधारमा विष्णु पौडेलको मत पनि यतै हुन सक्छ। त्यसैगरी दाहालसँगै हिजो माओवादीको राजनीतिमा रहेका रामबहादुर थापा यसै पनि ओलीसँग रहँदैनन्। प्रधानमन्त्री ओलीसँग उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थिति भने स्थायी कमिटीमा प्रस्ट छ। 

त्यतिमात्र होइन, पार्टी स्थायी कमिटीमा समेत ओलीविरोधी खेमाको प्रस्ट उपस्थिति छ। यो स्थितिमा पार्टी कमिटीले गरेको निर्णय मानेर जानु बाहेक विकल्प देखिँदैन। पार्टी संसदीय दलमा बहुमत सिद्ध गर्ने प्रधानमन्त्री ओलीको प्रयास देखिन्छ। संसदीय दलमा बहुमत पुगे पनि पार्टीले गरेको निर्णय शीरोधार्य गर्नुको विकल्प रहनेछैन। ‘पार्टीले संसदीय दल चलाउँछ, संसदीय दलले पार्टी होइन’, ओलीविरोधी खेमाका नेताहरूले भन्दै आएका छन्। संसदीय दलको ४० प्रतिशत बहुमतले अब अध्यादेशसमेत खारेज भइसकेको स्थितिमा पार्टी विभाजन गर्न सक्ने अवस्थासमेत छैन।

अहिलेसम्म प्रधानमन्त्री ओलीले पार्टीलाई बेवास्ता गर्दै आफ्ना निर्णय कार्यान्वयन गर्दै आएका थिए। आफूले चाहेअनुसार उनी पार्टी नेताको बढुवा वा घटुवा गर्ने हैसियतसमेत राख्थे। ओलीले केही महिनाअघि पार्टीमा आफू र अध्यक्ष दाहालपछि दोस्रो वरीयतामा रहेका नेपाललाई एक तह घटुवा गरी अर्का नेता खनाललाई त्यहाँ पु¥याएका थिए। ‘आजबाट तपाईं तेस्रो स्थानमा’, नेपाललाई घटुवा गरेको बैठकको क्षण सम्झिँदै एक वरिष्ठ नेता भन्छन्, ‘वास्तवमा उहाँले आफूसँगै हिजो संघर्ष गरेका वरिष्ठ नेताहरूको समेत मानमर्दन गर्दै आउनुभएको छ।’

आफूहरूलाई अलगअलग पारेर ओलीले पार्टीभित्र मानमर्दन गरेका कारण पनि सबै नेता चिढिएका छन्। अरु बेला यो अपमानलाई उनीहरूले प्रकट गर्न सकेका थिएनन्। त्यसमा पनि पछिल्लो पटक ओली मिर्गौला प्रत्यारोपणमा गएका र त्यसलगत्तै कोरोना भाइरसका कारण मुलुक लकडाउनमा परेका कारण उनीहरू चुप थिए। उनीहरूभित्रको त्यो सुषुप्त अवस्थालाई ओलीको अध्यादेश प्रकरणले जगाइदिएको छ। 

हिजो सँगै आन्दोलनमा हिँडेका र एउटै उमेर समूहका नेतालाई अपमान गर्दा पनि उनीहरूले सहँदै आएका हुन्। अध्यादेश प्रकरणले दलको अहिलेको हैसियत धराशयी हुने स्थिति देखिएपछि साख जोगाउन पनि उनीहरू एक भएका हुन्। अझ दाहाललाई लडाकु शिविरको भ्रष्टाचार र संक्रमणकालीन न्यायकै मुद्दामा अल्झाउने र नेपाललाई बालुवाटार जग्गा प्रकरणमा डामेर छाडिन्छ भन्ने ओली समूहको रणनीतिले उनीहरुलाई उतर्सिने अवस्थामा पु¥याएको छ। यस्तो बेलामा गौतमलाई प्रधानमन्त्री बनाउन आएको प्रस्ताव ओलीलाई नै एक पदबाट विमुख गर्न समेत उपयोगी हुने उनीविरोधी समूहको ठम्याइ छ। त्यसैले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव मान्न दाहाल, खनाल, नेपाललगायतका नेतालाई कुनै गाह्रो छैन। जसरी ओलीलाई उनीहरूले प्रधानमन्त्री मानेका छन्, त्यसैगरी गौतमलाई पनि मान्छन्।

पार्टीभित्र बहुमत सांसद पु¥याउने ओलीको प्रयासलाई समेत नेताहरूले गम्भीरतासाथ लिएका छन्। सचिवालय बैठकमै नेपालले ओलीलाई दिएको जवाफ उल्लेख गर्दै एक नेताले भने, ‘संख्याको धम्की नदिनुहोस्। पार्टीभित्रको संख्या कम भइसकेपछि तपाईंसँग सांसदको कति संख्या पु¥यो भन्ने कुराको कुनै अर्थ हुँदैन।’

‘अलमल्याउने दाउमा ओली’

नेता वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष बनाउन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव अलमल्याउने दाउन भएको विश्लेषण उनीइतर समूहले गरेको छ। 

पार्टीको स्थायी कमिटी बैठक छल्न र आफ्ना कमजोरीबाट जोगिने कसरतका रुपमा नयाँ कार्ड फ्याँकेको विश्लेषण गर्दै उक्त समूहले वामदेवलाई प्रधानमन्त्री बनाउने हो भने कति समयभित्र, स्पष्ट पार्न ओलीलाई आग्रह गर्ने भएको छ। प्रधानमन्त्रीको अप्रत्याशित प्रस्ताव पार्टीभित्र आफूविरुद्ध बनेको गठबन्धनलाई फुटाउन आएको बुझाइ उनीहरुको छ। 

शनिबार बस्ने सचिवालय बैठकमा यस विषयले मूर्त रूप लिने सचिवालय सदस्यको धारणा छ। यही विषयलाई लिएर अध्यक्ष  दाहाल र नेपाल समूहले बिहीबार अनौपचारिक छलफल गरेका छन्। छलफलपछि उनीहरूले गौतमलाई प्रधानमन्त्री बनाउने नै भए पनि पहिले प्रधानमन्त्री ओलीले कति समयसम्ममा यो प्रस्तावलाई कार्यान्वयन गर्ने भन्ने खाका दिन आवश्यक रहेको जनाएका छन्। प्रधानमन्त्री ओलीले धेरै समयदेखि उधारो प्रतिबद्धता जनाउने गरेको तर कार्यान्वयन भने कहिल्यै नगरेकाले करिब करिब असम्भव जस्तै प्रस्ताव ल्याएर अलमल्याउने प्रयास मात्रै गरेको उनीहरुको ठहर  छ।

उनीहरू ओली समस्या सुल्झाउने भन्दा बल्झाउनतिर लागेको निष्कर्ष निकालेका छन्। नेपालनिकट स्थायी कमिटी सदस्य भीम रावलका अनुुसार ओलीको अलमल्याउने रणनीति मात्रै हो। ‘गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नसक्नेले प्रधानमन्त्री बनाउने भन्ने कुरा अलमल्याउने काम मात्रै हो,’ नेता रावलले भने, ‘दुईवटा अध्यक्ष हुँदाहुँदै तेस्रो अध्यक्ष बनाउनु भनेको माधव नेपालको अपमान हो र त्यो अपमान नेता तथा कार्यकर्ताको पनि अपमान हो।’ सबै विषयमा स्थायी कमिटी बैठकले निरूपण गर्ने उनले बताए। 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उनी तत्कालै राजीनामा दिने अवस्थामा छैनन्। उनले सचिवालय बैठकमा राखेको प्रस्ताव कार्यान्वयन गर्ने हो भने ६ महिनाभन्दा बढी समय लाग्नेछ। राष्ट्रियसभाको सदस्य बनाएर गौतमलाई प्रधानमन्त्री बनाउने संवैधानिक व्यवस्था नरहेको र निर्वाचित सांसद बनाएर प्रतिनिधिसभा सदस्य बनाउने प्रक्रिया तत्कालै थाल्दा पनि ६ महिनाभन्दा बढी लाग्ने भएकाले तत्कालै प्रधानमन्त्रीले राजीनामा दिने अवस्था नरहेको उनीनिकतका एक नेताले बताए। 

दाहाल–नेपाल समूहले भने यो प्रस्तावले प्रधानमन्त्री आफैंलाई अप्ठ्यारोमा पारेको बताएका छन्। ‘भोलिका दिनमा कार्यान्वयन गर्ने अवस्था आए कुन विधिमा टेकेर कार्यान्वयन गर्ने हो, त्यसबारे प्रधानमन्त्रीले सोच्दै नसोची अलमल्याउन खोजेको देखिन्छ,’ एक नेताले भने। 

गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा उनीनिकटकै नेताहरूले विश्वास गरेका छैनन्। गौतमनिकट नेता बलराम बास्कोटाले प्रधानमन्त्री बन्ने संवैधानिक प्रावधान नै नभएको अवस्थामा आएको प्रस्तावलाई कसरी विश्वास गर्न सकिन्छ भन्ने प्रश्न गरे। ‘रोडम्यापबिनै आएका प्रस्तावलाई कसरी पत्याउने ? प्रधानमन्त्री बनाउने प्रक्रिया के हो ? त्यसबारे कुनै कुरै आएको छैन। यो वैज्ञानिक प्रस्ताव पनि होइन,’ उनले भने।

नागरिक बाट सभार गरिएको