वामदेव गौतमको मुद्धा आज सुनुवाई हुँदै

१६ आश्विन २०७७, शुक्रबार ०९:२६

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएको विषयलाई लिएर उनीविरुद्ध परेको मुद्दाको आज सुनुवाई हुँदैछ ।

गत १४ गते बुधबार हेर्दाहेर्दैमा राखिएको मुद्धाको सुनुवाई आजका लागि तोकिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले बुधबार सुनुवाई नसकिएपछि उनीविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखेको हो ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबै पक्षबाट बहस भए पनि अझै बहस गर्ने क्रम नसकिएकोले आज शुक्रबारसम्मलाई सुनुवाई सारेको थियो । शुक्रबार पनि गौतम विरुद्धको मुद्दा बुधबार हेरेका न्यायाधीशले नै हेर्ने बताइएको छ ।

नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि गत असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनको पद यथास्थितिमा राख्न र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।