वामदेवका लागि उपनिर्वाचन घातक

२५ आश्विन २०७५, बिहीबार ०७:५८

काठमाडौं क्षेत्र नम्बर–७ का निर्वाचित सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको छ ।

मानन्धरले नेकपाका नेता वामदेव गौतमको लागि राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल तातिएको हो ।

उपनिर्वाचन का बारेमा सामाजिक सञ्जालदेखि चिया पसलसम्म अनेकन टिकाटिप्पणी भइरहेको बेला स्वयम् पूर्वएमालेका काठमाडौं जिल्ला कमिटीका नेताहरुले नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टा छुट्टै भेटेर चुनाव आत्मघाती हुनसक्ने रिपोर्टिङ गरेका छन् ।

क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश १ र २ का सांसदहरु बसन्त मानन्धर र प्रकाश श्रेष्ठसहितका काठमाडौं जिल्ला कमिटीका नेताहरु प्रधानमन्त्री समेत रहेका ओलीलाई रिपोर्टिङ गर्न बुधबार बालुवाटार पुगेका थिए ।
उनीहरुले उपनिर्वाचन भए पार्टीका लागि आत्मघाती हुने रिपोर्टिङ गरेको सहभागि सदस्यले बताए । उनीहरुले प्रचण्डलाई पनि रिपोर्टिङ गरेका छन् ।

‘रामवीरले व्यक्तिगत स्वार्थका लागि राजीनामा गरेका हुन् । चुनाव जित्न हिजोको माहोलजस्तो आज छैन र थुप्रै प्रतिकूलताहरु थपिएकाले अहिले उपनिर्वाचन आत्मघाती हुन सक्छ’ उनीहरुले प्रचण्ड र ओलीलाई गरेको ब्रिफिङ उदृत गर्दै ती नेताले भने, ‘यसमा पार्टीले गम्भीर समीक्षा गर्नु जरुरी हुन्छ।’

यसअघि मानन्धर र श्रेष्ठ समेतको सहभागितामा बुधबार बसेको काठमाडौंको सचिवालको बैठकमा पनि यही निश्कर्ष निकालिएको थियो ।

बैठकले मानन्धरलाई राजीनाको निर्णय फिर्ता लिन र पार्टीलाई उपनिर्वाचनमा जान नदिन आग्रह गर्ने निर्णय भएको पनि नाम उल्लेख गर्न नचाहने अर्का नेताले बताए ।

सांसद मानन्धरले आफूले पार्टी नेतृत्वको दवावमा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको दाबी गर्दै आएका छन् ।

पार्टी एकीकरणमा  वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उनको संसदमा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिन लागेको  उनको तर्क छ ।