लोकसेवा आयोगले स्थानीय तहका लागि तहगतरूपमा कर्मचारी माग गर्ने

८ जेष्ठ २०७६, बुधबार १४:०३

काठमाडौं, लोकसेवा आयोगले स्थानीय तहका लागि तहगतरूपमा कर्मचारी माग गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नयाँ कर्मचारी भर्ना खुलाउने सम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेसँगै तहगतरूपमा पनि कर्मचारी माग गर्ने बाटो खुलेको हो ।यसअघि श्रेणीगतरूपमा कर्मचारी मागिएको थियो ।

स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरूप अब तहगत रूपमा कर्मचारी माग गर्न लागिएको हो। संघीय सरकारमा भने श्रेणीगत व्यवस्था कायम गरिएको छ ।मन्त्रिपरिषद्ले पारित गरेसँगै आयोगले नयाँ कर्मचारी भर्नाका लागि एक दुई दिनमै विज्ञापन आ≈वान गर्नेछ। अब आयोगले अधिकृतस्तरको पदमा १ हजार र नायब सुब्बास्तरमा ३ हजार पदमा नयाँ विज्ञापन गर्नेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि कर्मचारी माग गर्न आयोगलाई पत्राचार गरेको थियो। त्यसपछि स्थानीय तहका लागि कर्मचारीको विज्ञापन गर्ने सम्बन्धमा तह र श्रेणीका बीचमा देखिएको अन्योल, तहगत परीक्षाका लागि आवश्यक योग्यता, बढुवाको क्षेत्र, कार्य्विधि, बढुवा उम्मेदवारजस्ता विषयमा नीतिगत निर्णय हुनुपर्ने विषयमा आयोगले सरकारसँग स्पष्टता खोजेको थियो ।

स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरूप अब तहगतरूपमा कर्मचारी माग गर्न लागिएको हो । संघीय सरकारमा भने श्रेणीगत व्यवस्था कायम गरिएको छ ।आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि यस्ता कानुनी समस्या परेकाले उक्त जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।

बैठकले तह र श्रेणीका बीचमा कुन तहमा रूपान्तरण गर्ने, तहगतरूपमा परीक्षा लिँदा कुन पदका लागि उम्मेदवारको शैक्षिक योग्यता कति चाहिने भन्ने सम्बन्धमा निर्णय गरेको बुझिएको छ ।यसैगरी आयोगले बढुवाको क्षेत्र, कार्य्विधि, बढुवा उम्मेदवारलगायतका विषयमा नीतिगत निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि मात्रै लोकसेवालाई पत्र पठाउँदै ४३७ स्थानीय तहमा ११ हजार ४९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो । अझै १ हजार ५ सय रिक्त पदमा पदपूर्ति गर्नेसहितको माग पठाउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । लोकसेवाले पदअनुसार हालकै पाठ्यक्रमलाई संशोधन गरी नयाँ पाठ्यक्रमसमेत बनाइसकेको छ ।