लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिको प्रतिकार गरौः प्रचण्ड

३० भाद्र २०७६, सोमबार १२:३६

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नु भएको छ ।

पार्टीका दिवङ‍्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा सोमबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहन र त्यसको प्रतिकारमा उत्रिन विद्यार्थीलाई आह्वान गर्नु भएको हो ।

उहाँले अराजकता मच्चाउनेमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने संकल्प गर्न आवश्यक भएको बताउनु भयो । हत्केलाले सूर्य छेक्न खोज्न सम्भव नभएको बताउनु भयो । त्यो दुस्साहस मात्र हुने बताउनु भयो ।

उहाँले नेता बोगटीलाई आफूहरुले जहाँ जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ त्यहाँ खटाउने गरिएको र उहाँले मूल नेतृत्व र नीतिलाई सधैं सहयोग गरेको भन्दै स्मरण गर्नु भयो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता हुनुभएको र उहाँको त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताउनु भयो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटीको २०७१ साल भदौ ३० गते निधन भएको थियो । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले बेगटीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भयो ।