लुटपाटमा संलग्न ५ जना पक्राउ

४ असार २०७५, सोमबार ११:११

असार ४, काठमाडौं ।

प्रहरीले काठमाडौंको टोखा नगरपालिका–७, प्रयासनगरमा शनिबार भएको लुटपाटमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको शंकरापुर–१ का शिव बस्ताकोटी, लमजुङको राइनस–१० का २६ वर्षीय माधवप्रसाद न्यौपाने, स्याङजाको चापकोट–४ का कृष्ण राज पुरी, चन्द्रकान्त पुरी र रुकुमको उत्तरगंगा–६ घर भएर हाल काठमाडौं बस्दै आएका गोविन्द मल्ल छन् ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले लुटिएको जंगली जडिबुटी ४५ किलो सतुवासहित पक्राउ गरेको हो । प्रहरीका अनुसार यो जडिबुटीको बजार मूल्य प्रति किलो १७ हजार रुपैयाँ छ ।

परिसरका डिएसपी मोहन थापाका अनुसार उनीहरुसहित अन्य व्यक्तिको समूहले २ असारमा म्याग्दीको रघुगंगा–६ का दिपक आचार्यको सतुवा, नगद ६ लाख, साढे दुई तोला सुनको औंठी, तीन तोला सुनको सिक्री लगायतका सामग्री लुटेका थिए ।

फरार अन्यको खोजी कार्य जारी रहेको थापाको भनाइ छ । पक्राउ परेकाहरुबाट विस्तृत अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।