लिपुलेक र कालापानी हाम्रै होः मन्त्री बाँस्कोटा

२१ कार्तिक २०७६, बिहीबार १९:२८

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्वीकार गरी दिएको स्पष्ट पार्नु भएको छ ।

मन्त्री बाँस्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको बताउनु भयो । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले एक पक्षीय रुपमा भारतले जारी गरेको राजनीतिक नक्सालाई सरकारले अस्वीकार गरिदिएको बताउनु भयो । ‘एक पक्षीय रुपमा भारतले हालै जारी गरेको पोलिटिकल नक्सालाई हामीले अस्वीकार गर्ने निर्णय गरेका छौं’, मन्त्री बाँस्कोटाले भन्नु भयो ,लिपुलेक र कालापानी हाम्रै हो , ‘कुटनीतिक, राजनीतिक तहबाट ती समस्या समाधान गरिनेछ।’

उहाँले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताउनु भयो । नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बाँस्कोटाको भनाई छ।