ललितपुर अदालतले १२ लाख रुपैयाँ धरौटीमा श्रेष्ठलाई छोड्न आदेश

६ असार २०७५, बुधबार ०५:५५

असार ६, काठमाडौं ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत, ललितपुरले १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

यसअघि उनलाई सोही प्रकृतिको मुद्दामा जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, जिल्ला प्रहरी कार्यालय, ललितपुरमा पनि उनीविरुद्ध अनुसन्धान भइरहेकाले प्रहरीले फेरि पक्राउ गरेको थियो ।

 

मंगलबार जिल्ला अदालत, ललितपुरका न्यायाधीश धनसिंह महराको इजालासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

 

वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए ।

 

उनको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।

उनले पनि २०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपे । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा र्पुयाउँदा २८ सय रुपैयाँ लिने अर्को धन्दा उनले चलाएका थिए ।