‘लम्फू’मा ‘तरकारीवाली’ कुसुमको अभिनय

१३ कार्तिक २०७४, सोमबार ०३:२९

एक बर्ष अगाडि सामाजिक संजालमा एक यूवतीको खुबै चर्चा भयो । चितवनकी कुसुम श्रेष्ठलाई विश्वभरका मानिसले ‘तरकारीवाली’ नामले चिने । अहिले, उनी आफ्नै काममा मस्त छिन् । उनको चर्चा मिडियामा छैन भन्दा पनि हुन्छ ।

तर, उनै कुसुमलाई निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र ‘लम्फू’मा अभिनय गराएको खुलासा भएको छ । यो चलचित्रबाट प्राप्त भएको पारिश्रमिक कुसुमले अनाथ बालबालिकाका लागि खर्च समेत गरेकी छिन् । उनले भनिन्(–अहिले नै म मेरो भूमिकाको बारेमा केही पनि खुलाउन चाहन्नँ । तपाइहरुले हलमा गएपछि मेरो भूमिका प्रष्टसँग थाहा पाउनुहुनेछ ।’

यो चलचित्रको छायांकन सकिएपनि कुसुमको अभिनय रहेको कुरालाई भने निर्माणपक्षले गोप्य नै राखेको थियो । उनले भनिन्–म जुन समाजमा हुर्के, बढे । यहि समाजले नै मलाई आज ‘तरकारीवाली’ भनेर चिनायो । मैले पनि समाजको लागि केही गर्नुपर्छ भन्ने लागेर असहाय बालबालिकाका लागि खर्च गरेको हुँ ।’

उनले, आगामी दिनमा पनि समाजसेवामा नै आफूले काम गर्ने बताएकी छिन् । कुसुमका अंकल गोपिलालले ‘तरकारीवाली’को रुपमा भाइरल भएसँगै कुसुमलाई थुप्रै अफर आएको बताए ।

तर, चलचित्र ‘लम्फू’को टिमको सामाजिक उतरदायित्वको सोच र उनलाई मास्टर डीग्रीसम्म निःशुल्क पढाइदिने भनेपछि कुसुमले काम गरेको गोपिलालको भनाई छ । पपुलर मल्टिमिडियाकालागि शक्तिवल्दभ घोरासैनीले निर्माण गरेको यो चलचित्रमा कविर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिष्का पोखरेल, संजित भण्डारीको मुख्य भूमिका छ ।