लमजुङको तर्लुङकोटमा प्रथम दुराडाँडा महोत्सव : दुरा जातिकाे पहिचान जोगाउने उद्धेश्य

३ बैशाख २०७६, मंगलवार २०:२४

लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–११, सिन्दुरे तुर्लुङ्कोटमा प्रथम दुराडाँडा महोत्सव सञ्चालन गरिएको छ ।

दुराडाँडा सेवा समाज काठमाण्डाै, दुरा सेवा समाज, सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वर, सुन्दरबजार नगरपालिका–४, दुराडाँडा, सुन्दरबजार नगरपालिका–१०, धुसेनी र सुन्दरबजार नगरपालिका–११, सिन्दुरे, बेसीशहर नगरपालिका–४, पुरानकोट र मध्यनेपाल नगरपालिका–१०, नेटाको संयुक्त आयोजनामा प्रथम दुराडाँडा महोत्सव सञ्चालन गरिएको हो ।  

यस क्षेत्रको शैक्षिक, सामाजिक, आर्थिक उत्थान एवं पर्यटन जोगाउनुका साथै दुराडाँडाको शान र पहिचानलाई बचाइराख्न महोत्सव सञ्चालन गरिएको दुराडाँडा सेवा समाजका अध्यक्ष निर्मल न्यौपानेले जानकारी दिनुभयो ।  

‘दुराडाँडा क्षेत्रको ऐतिहासिक, धार्मिक, सामाजिक र साँस्कृतिक पक्षको संरक्षण–संबर्द्धनका साथै स्थानीयबीच सामाजिक एकताको भावनालाई बलियो बनाउन हामीले यो कदम चालेका हौँ,’ उहाँले भनुभयो, ‘यसले ग्रामीण पर्यटन, पर्या–पर्यटन र खेल पर्यटनमा पनि टेवा पुर्‍याउने हाम्रो विश्वास छ ।’

सुन्दरबजार नगरपालिका–११, का वडाअध्यक्ष प्रेमबहादुर दुराका अनुसार ऐतिहासिक तर्लुङकोट कालिकामा बर्सेनि चैते दशैँमा धार्मिक मेला लाग्दै आएको छ । आइतबारदेखि सुरु भएको महोत्सव मंगलबार समापन हुदैँछ ।  

दुरा सँस्कृति जोगाउन होमस्टे      

वडाअध्यक्ष दुराका अनुसार तुर्लुङकोटमा होमस्टेसमेत सञ्चालन गरिएको छ । यहाँ दुरा समुदायको बाहुल्यता रहेको छ । हराउँदो दुरा जातिको संस्कृति संरक्षण गर्नुको साथै स्थानीयको आर्थिक उपार्जनका लागि गाउँमा होमस्टे सञ्चालन गरिएको हो ।

तुर्लुङकोटमा ऐतिहासिक तुर्लुङकोटगढी, कालिका मन्दिर, पुरानो दरबार, ऐतिहासिक खजेपार्क, सिन्दुरे ढुंगा, पुराना–पाटीपौवा मुख्य आकर्षणको रुपमा रहेका छन् ।    

यसैगरी, तुर्लुङकोट गढीबाट सूर्योदय, सूर्यास्तको प्रत्यक्ष दृश्यवलोकन, थुप्रै हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने स्थानीय बताउँछन् । गढीबाट लमजुङ, तनहुँ, गोरखा, कास्कीका मनोरम दृश्यको समेत अवलोकन गर्न सकिन्छ ।

सुन्दरबजारबाट गाडीमा एक घण्टामै पुग्न सकिने तर्लुङकोट पैदल हिँडेर जाँदा सवा दुई घण्टा जति लाग्छ ।