रौतहटमा ३२ गाडी र १५० बढी भारतीय मोटरसाइकल बरामद, “भारतीय बजारमा दश देखी पन्ध्र हजार रुपैया सम्ममा पनि मोटरसाइकल”

२१ चैत्र २०७४, बुधबार ०८:२७

चैत २१, काठमाडौं ।

खुल्ला सिमानाका कारण सजिलै नेपाल भित्रिएका चोरीका भारतीय नम्बरका ३२ वटा गाडी र १५० भन्दा बढी मोटरसाइकलहरु प्रहरीले बरामद गरेको छ ।

२०७४ मंसिर यता प्रहरीले यति ठूलो मात्रामा चोरीका र कागजातविहीन भारतीय गाडीहरुलाई रौतहटको विभिन्न स्थानबाट नियन्त्रणमा लिएर भंसार कार्यालय तथा राजश्व कार्यालय पथलैयामा बुझाएको छ ।

भारतीय बजारसँग सीमा जोडिएका रौतहटका विभिन्न नाका भएर जिल्लामा प्रवेश गरेका यी सवारी साधनहरुलाई चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व कार्यालयमा पठाएको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

रौतहटको दक्षिणी भेगमा ठूलो मात्रामा अझै पनि चोरीका मोटरसाइकल तथा गाडीहरु प्रयोगमा रहेका छन ।

भारतीय बजारमा सस्तो मूल्यमा किनेर नेपाली भूमिमा प्रयोग भइरहेको सवारी साधनको संख्या रौतहटमा अत्याधिक रहेको छ ।

नेपाली मूल्य भन्दा झण्डै तीनगुणा सस्तो मूल्यमा भारतीय गाडीहरु पाइने भएपछि भारतीय आफन्तहरुको नाममा गाडी किनेर गौरदेखि गरुडासम्मका स्थानीयले प्रयोग गरिरहेका छन् ।

स्थानीय सर्वसाधारण मात्र होइन, नेता, प्रदेश सदस्य तथा प्रतिनिधि सभाका साँसद समेतले भारतीय गाडी राख्ने गरेका छन् ।

भारतीय गाडीहरु नेपाली भूमिमा निश्चित दुरीसम्म जान पाउने प्रावधान रहेपनि विदेशी नम्बर प्लेटका गाडी नेपालमै भन्सार पास बिना राख्न मिल्दैन ।

प्रहरीले बरामद गरेको चारपाङग्रे गाडीमा भारतीय नम्बरको बोलेरो, मार्शल, सुमो, पिकअप तथा स्कारपियो समेत रहेका छन् ।

गाडीको कुनै कागजात नभएका तथा नक्कली काजगपत्रका आधारमा जिल्लाका विभिन्न स्थानमा गुडिरहेको अवस्थामा गाडीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारतीय गाडी सुरक्षा चुनौतीको विषय बन्दै

रौतहटको सदरमुकाम समेत जिल्लाका विभिन्न भेगमा गुडने गरेका भारतीय गाडीले सुरक्षालाई चुनौतिपूर्ण बनाउने गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल बताउँछन् ।

‘लामो समयदेखि रौतहटको दक्षिणी भेगमा ठूलो संख्यामा भारतीय गाडीको प्रयोग भएको छ । त्यस्ता गाडीहरुलाई चेकजाँच गरेर भन्सार दस्तुर काटन लगाउने काम भएको छ,’ उपरीक्षक पोखरेल भन्छन ,’भन्सार नकाटेका गाडीहरु नियन्त्रणमा लिने र कारवाही गर्ने काम तिव्रताका साथ अगाडी बढेको छ ।’

चोरी तस्करीका लागि पनि तस्करहरुले ठूलो संख्यामा भारतीय मोटरसाइकलहरु प्रयोग गरिरहेका छन् ।

मंगलवार मात्रै पनि सशस्त्र प्रहरीले तीन वटा भारतीय मोटरसाइकलमा तस्करी गरी ल्याउदै गरेको दुई लाख भन्दा बढी मूल्यको कपडा तथा मोटरसाइकल बरामद गरेको थियो । ‘भारतीय बजारमा दश देखी पन्ध्र हजार रुपैया सम्ममा पनि मोटरसाइकल पाए पछि तस्करहरुले त्यस्तै मोटरसाइकल प्रयोग गरेको देखिएको छ ।’

एक साता यता मात्रै सशस्त्र प्रहरी बलले पनि भारतीय नम्बरका ६ वटा मोटरसाइकलहरु तस्करीका सामानसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंसिर महिना यताको अवधिमा १ करोड ५८ लाख बराबरको चार पाङग्रे सावारी साधन र २ करोड बराबरको मोटरसाइकलहरु भन्सार तथा राजश्व कार्यालयमा बुझाइएको छ ।