रोनाल्डोले खाना खान बोलाए नजानू : प्याट्रिस एभ्रा

८ असार २०७५, शुक्रबार ११:१०

असार ८, काठमाडौंं । एजेन्सी

पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले खाना खान बोलाए भने जानु नहुने अर्का फूटबलर प्याट्रिस एभ्राले बताएका छन् । उनीहरू दुवैजना पहिले म्यानचेस्टर युनाइटेडमा सँगै खेल्थे ।

रोनाल्डोलाई नजिकबाट चिन्ने एभ्राले भने, ‘रोनाल्डोले खाना खान घर बोलाए सीधै आउँदिनँ भन्नू ।’

फ्रान्सबाट खेल्ने एभ्राले पुरानो कुरा शेयर गर्दै भने, ‘रोनाल्डोले एकपटक मलाई घरमा खाना खान बोलाए । अभ्यासपछि मेरा घर आउनू भनेका थिए उनले । म त्यहाँ थाकेर चुर भएको बेलामा पुगेको थिएँ । टेबलमा चिकेन र अलिकति सलाद थियो । त्यहाँ कुनै जुस पनि थिएन, सादा पानी मात्र थियो ।’

एभ्राले भन्दै गए, ‘हामीले खान शुरू गर्‍यौं । एकछिनमा मासु आउला भन्ने मेरो सोच थियो तर आएन । रोनाल्डोले कपाकप खाए अनि कुर्सी उठेर बलसँग खेल्न थाले । खाँदाखाँदै अभ्यास गरौं पो भन्न थाले उनले । मैल म आफ्नो खानेकुरा त सक्छु अनि जाउँला भनें । उनले हैन अहिल्यै अभ्यास गर्न थालौं भने । अनि हामीहरू टु टच अभ्यास गर्न थाल्यौं ।’

‘त्यसपछि रोनाल्डोले स्विमिङ गराए, सउनामा लगे अनि अरू के के गराए । म थाकेर चुर भएको छु, उनी चाहिँ मशिन जस्तो एकपछि अर्को काम गरेको गर्‍यै गर्छन् । उनीसँग त कहिल्यै पनि खाना खान बस्नु नहुने रहेछ ।’

रोनाल्डोलाई कुनै खेलमा पनि हारेको मन पर्दैन भन्छन् एभ्रा । एभ्राले भने, ‘एकचोटि हामी टेबल टेनिस खेलिरहेका थियौं अनि रियो फर्निनान्डले त्यसमा रोनाल्डोलाई हराए । हामी सबै रियोका लागि खुशी मनाइरहेका थियौं तर रोनाल्डो एकदम निराश थिए । पछि रोनाल्डोले आफ्ना भाइलाई एउटा टेबल टेनिस सेट किन्न पठाए ।

दुई हप्तासम्म रोनाल्डोले टेबल टेनिसको अभ्यास गरे । अनि फेरि उनले रियोसँग खेल्दा जिते । रोनाल्डो यस्ता मेहनती मान्छे हुन् । त्यसैले उनी फेरि एकपटक ब्यालन डीओर जित्ने धुनमा छन् अनि परिस्थिति मिले उनले पोर्चुगललाई विश्वकप नै जिताउँछन् । उनी अद्भुत खेलाडी हुन् ।’

हुन पनि यो विश्वकपमा रोनाल्डोले राम्रो प्रदर्शन गरिरहेका छन् । उनले ह्याटट्रिकसहित चार गोल गरिसकेका छन् ।