रोकिएको जग्गा कित्ताकाट खुल्यो, सर्बसाधरणलाई राहत ,कर्मचारीलाई आहात

२७ पुष २०७५, शुक्रबार १७:२०

काठमाडौं , करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट  सरकारले खुला  गरेको छ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिनु भएको छ ।

‘अघिल्लो निर्णयलाई पुनरावलोकन गरिएको छ’, पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भन्नु भयो , ‘घर व्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि निर्णयको पुर्नविचार गरिएको छ।’

अर्यालले उक्त निर्णय तत्कालका लागि पुनरावलोकन गरिएको भने प्रष्ट पार्दै कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने  बताउनु भएको छ । ‘खेतीयोग्य जग्गा कुनै प्रकारले प्लटिङ गरी घरेडीको रुपमा कित्ताकाट गरी बिक्री वितरण गर्न वा हक हस्तान्तरण गर्नेगरी लिखत पास गरिने छैन’,  उहाँले भन्नु भयो । खेतियोग्य जमिन भए नभएको पहिचान भने स्थानीय तहले गर्नेछ। त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइने मन्त्री अर्यालको भनाइ छ। कित्ताकाट खुला गर्ने निर्णय अस्थायी भएकोसमेत मन्त्री अर्यालको भनाइ छ। दीर्घकालीन रुपमा ऐनबाटै जग्गाको वर्गीकरण गरी व्यवस्थापन गरिने  उहाँले प्रष्ट पार्नु भयो । सँगै मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई कारबाही गर्ने चेतावनी समेत  दिनु भएको छ ।

बीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट गरे पनि औपचारिक रुपमा खुलेको थिएन। घरजग्गा कारोबारीले खेतीयोग्य जमिन प्लटिङ गरेर व्यवसाय गर्न थालेपछि सरकारले कित्ताकाट रोक गर्ने निर्णय गरेको थियो।   अशंबण्डको नाममा कित्ता काट गरी जग्गा ब्यबसायी संग मोटो रकम लिई अनुचित फाइदा लिदै आएकोमा अहिलेको सरकारको निर्णयले सर्बसाधारणलाई राहत मिलेको छ भने सम्बन्धित निकायका कर्मचारीहरुलाई आहात भएको सर्बत्र चर्चा चलेको छ ।