रेशम चौधरीलाई पद तथा गोपनियताको सपथ

१९ पुष २०७५, बिहीबार १६:०६

काठमाडौं – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीलाई सपथलगत्तै डिल्लीबजारस्थित सदर खोर लगिएको छ ।टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहनु भएका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाउनु भएको थियो । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो  लगाईदिनु भएको थियो ।थारु भाषामा सपथ लिनु भएका चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो ।सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिनु भयो भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उहाँलाई बधाई दिँदै फूलमाला लगाईदिनु भएको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो। घटनापछि फरार रहनु भएका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी हासिल गर्नु भएको थियो । तर उहाँ निर्वाचित भए पनि सपथ लिन पाउनु भएको थिएन। गत असारमा उहाँले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्नु भएको थियो ।