रुपन्देहीको तिलोत्तमा मेलामा घोडचडी देखि बग्गी सफारी सम्म

३० पुष २०७४, आईतवार ११:१५

तेजेन्द्र के.सीं  पुस ३०, रुपन्देही।

रुपन्देहीको मणिग्राममा संचालित तिलोत्तमा व्यापार मेलामा घोडा सफारीदेखि सेल्फी स्पटसम्म दर्शकहरुको आकर्षण बनेको छ ।

मेला स्थलमा ६ वटा घोडा र एउटा बग्घीले दर्शकलाई सयर गराइरहेका छन् । दिनहुँ ५ सयभन्दा बढी दर्शकहरुले घोडा सफारी गर्ने गरेको मेला मूल समितिका संयोजक तथा तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्रप्रसाद कंडेलले जानकारी दिए ।

मेलामा सहभागी नयाँमिलका खोपलाल पाण्डेले घोडा सफारीको छुट्टै आननद रहेको बताए । “घोडा सफारी अरु मेलामा देखेको थिइन, तर यहाँ राखिएको रहेछ”–उनले भने । मेलामा आउने धेरै दर्शकहरु घोडा र बग्घी सफारीमा मनोरन्जन लिने गरेका छन् । जसमध्ये धेरै युवा तथा बालबालिका रहेका छन् ।

मेला तथा प्रदर्शनीहरुमा हात्ती तथा उँट सफारी धेरै ठाउँमा देख्दै आएपनि घोडा सफारी भने आफूले पहिलोपल्ट देखेको मेलामा सहभागी तिलोत्तमा–२, जानकीनगरकी कमला भण्डारीले बताइन् ।

मेलामा सेतो हिमालदेखी समथर तराईको दृश्यले समेत दर्शकहरुको ध्यान तानेको छ । उक्त दृश्यका साथमा सेल्फी स्पट निर्माण गरिएको छ । मेला अवलोकन गर्न आउने अधिकांशले सेल्फी स्पट पुगेर सेल्फी खिच्दै तस्वीर मोवाईलमा कैद गरिरहेको संघका प्रथम उपाध्यक्ष बाबुलाल भुसालले बताए ।

त्यस्तै मेलामा विशेषगरी बालबालिकाका लागि डुंगा सफारीको व्यवस्था पनि मिलाइएको छ । मेलामा सहभागी अधिकांश बालबालिका डुंगा सफारीमा रमाउने गरेको संघका द्वितीय उपाध्यक्ष रामचन्द्र पाण्डेले जानकारी दिए । कृत्रिम पोखरी भएपनि बालबालिकाले प्राकृतिक डुङ्गा सफारीको अनुभुती गर्ने गरेका छन् ।

तिलोत्तमा व्यापार संघले पहिलोपल्ट आयोजना गरेको मेलामा किसानहरुको उत्पादनलाई विशेष महत्व दिईएको छ । विभिन्न जिल्लामा उत्पादन भएका विभिन्न प्रकारका फलफुल तथा कृषिजन्य उत्पादनहरुलाई मेलामा प्रदर्शन गरिएको छ । मेलामा सहभागी ३२५ स्टल मध्ये अधिकांश कृषिसँग सम्बन्धित रहेको अध्यक्ष कंडेलले जानकारी दिए । कृषि, पर्यटन, उद्योग, व्यापार एवं सेवाहरुको बृहत प्रदर्शनी गर्ने उद्देश्यले आयोजित मेलामा दिनहुँ अवलोकनकर्ताको भीड बढ्दै गएको छ ।

अर्कोतर्फ मेलामा विभिन्न आधुनिक तथा लोकदोहोरी गायकहरुले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका छन् । सांस्कृतिक मन्चमा विभिन्न कलाकारहरुको बजोड प्रस्तुतीले दर्शकहरु रमाउने गरेका छन् । मेलाको स्टल घुम्ने, बाल उद्यानमा रमाउने र घोडा सफारी गरेपछिको थकान सांस्कृतिक मन्चले मेट्ने गरेको सहभागीहरुको भनाई छ ।

मेलामा राखिएकास्टलहरुमा घरेलु उत्पादनका सामग्री, जुत्ताचप्पल, कृषि उपज, जडिबुटी, औद्योगिक मेशेनरी तथा उपकरण, अटोमोबाईल्स, इलेक्ट्रोनिक्स, मोवाइल, सूचना प्रविधि, फर्निचर, तयारी पोसाक, लघु उद्यमका उत्पादन समेतका सामग्रीहरु राखी प्रदर्शन गरिएको छ

सम्रग जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि तथा लघु उद्यमका उपजहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म व्यापक प्रचार प्रसार गराउँदै शिक्षा, स्वास्थ्य र सुचनाको प्रविधिलाई समेत प्रवद्र्धन संघले लक्ष्य बोकेको जनाएको छ ।

मेलामा दर्शकको सहभागिता पनि बढ्दै गएको छ । मेलाको पाँचौं दिनसम्म आइपुग्दा करिव ८० हजार दर्शकले अवलोकन गरेको मेला सचिवालयले जानकारी दिएको छ । त्यस्तै करिव ६ करोडको आर्थिक कारोबार भएको संघका महासचिव विष्णु बरालले जानकारी दिए ।

मेलामा आइतबार राष्ट्रिय लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, आधुनिक गायक रमेशराज भट्टराई, जिवन दाहाल, लोक तथा दोहोरी गायिका रितु थापा लगायतले मनोरन्जन प्रदान गरेका थिए । त्यस्तै तिलोत्तमा डान्स आइडल एवं भ्वाईस अफ तिलोत्तमाका प्रतियोगितले प्रस्तुती प्रस्तुत गरेका थिए ।