रुपन्देहीका मतदाताले उम्मेदवारलाई भने–“अबदेखि इमानको राजनीति गर्नुस्”

२२ मंसिर २०७४, शुक्रबार ०९:२४

तेजेन्द्र के.सी  मंसिर २२ , बुटवल ।
रुपन्देहीका मतदाताहरुले नेताहरुलाई ढाँटको राजनिति त्यागेर इमानको राजनिति गर्न आग्रह गरेका छन् ।

पञ्चायतदेखि राजतन्त्र अन्त्यको युगमा आइपुग्दा पनि मूलुकमा आशातित उपलब्धी हासिल नभएकोले अब इमानको राजनिति गर्न आग्रह गरेका हुन । प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरुले मूलूकलाई आर्थिक रुपमा सबृद्ध र युवा पलायनलाई रोक्ने प्रतिबद्धता जाहेर गरेकाले त्यसलाई कार्यान्वयन गर्न अन्तिम मौका दिएको बताए ।

पञ्चायत फाल्नेदेखि राजतन्त्र फाल्ने अवस्थासम्म आफूले मतदान गर्दै आएकी बुटवल ८ सुख्खानगरकी ८० बर्षिय बृद्धा नन्दकुमारी पौडेलले नेताहरुले अब जनतालाई ढाँट्न नहुने बताईन । उनले अर्को पटकको चुनाव दिन पाउने कुनै ग्यारेन्टी नभएको भन्दै सकी नसकी मत हाल्न आएको बताईन । “विकास खोजेका छौं, सबैले सुखसँग बाँच्न पाए हुन्छ” उनले भनिन ।


८० बर्षिय आमाले मात्रै होईन अब मूलूकलाई समृद्ध बनाउने आश लिएर मतदान स्थलसम्म आएकी युवती हुन १९ बर्षिय प्रकृति थापा । उनले पहिलो पटक मतदान गर्न पाउँदा आफूलाई निकै खुशि लागेको बताउँदै मतको दुरुपयोग नगर्न नेताहरुको ध्यानआकर्षण गराईन ।


उनले आफू स्वदेशमै बसेर बाँच्न चाहेको बताउँदै त्यसको ग्यारेन्टी अब बन्ने सरकारले गर्नुपर्ने बताईन । मतदाताहरुले रोजगारी, शिक्षा, स्वास्थ्य र उद्योगधन्दाको व्यवस्था गर्न अपिल गरेका छन् । मतदाताले मतदान केन्द्रमा मतसँग मूलूक समृद्ध हुने सपना पनि बोकेका छन् । प्रतिनिधिसभा तर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा उम्मेद्वारहरुले समृद्ध सहर युवालाई रोजगारीको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका छन् । ती प्रतिबद्धता हेरेका मतदाताले पूरै नभएपनि कम्तीमा ५० प्रतिशत काम गरेपनि आफ्नो ठाउँको विकास हुने पुष्पा गौतमले बताईन ।

उनले युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि औद्योगिक क्षेत्रको स्थापनामा सरकारले काम गर्नुपर्ने बताईन । उम्मेद्वारहरुले प्रत्येक पटक सुकुम्बासी क्षेत्रका नागरिकलाई लालपूर्जाको आश देखाउँदै आएका छन् । बुटवलको तिनाउ किनारदेखि देवदह, रुद्रपुर, सैनमैना र धकधई क्षेत्रका नागरिकले आफूलाई व्यवस्थित बसोबासीको रुपमा स्थापित गराउन माग गरेका छन् । बुटवल बुद्धनगरका कृष्ण खनालले आफूलाई सधै लालपूर्जाको आश्वासन देखाएर भोट बैंकको रुपमा प्रयोग गरेकाले यो पटक त्यसो नगर्ने शर्त सहित मतदान गरेको बताए ।

उनले सुकुम्बासीको नाममा हुकुमबासीलाई लालपूर्जा दिने काम गर्न नहुने बताए । विश्वशान्तिको मुहान लुम्बिनीको विकासदेखि पूर्वाधार विकाससम्मका नारा लिएर नेताहरु मैदानमा उत्रिएका छन् । मतदाताहरुले ठूला आयोजनाको विकास भन्दा पनि आफ्नो दैनिकीलाई सहज बनाउने आश लिएर मतदानस्थलसम्म आएका भेटिए । उम्मेद्वारहरुले लुम्बिनीलाई विश्वको पर्यटकीय सुन्दर सहरको रुपमा विकास गर्ने, बुटवल बेलहिया सडकखण्डलाई नमूनाको रुपमा विकास गर्ने, अन्तराष्ट्रिय विमानस्थल चाँडो निर्माण सक्ने, बुटवलमा निर्माणधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्रको निर्माणलाई तिव्रता दिने, मोतीपुरमा औद्योगिक करिडोर स्थापना गर्ने, प्रदेशस्तरीय मेडिकल कलेजको स्थापना, बुटवललाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने, कृषि र पर्यटनका दर्जनौं कार्यक्रम सहति मतदाताका माझमा गएका थिए ।

तर मतदाताले भने आफ्नो सामान्य दैनिकिमा परिवर्तन खोजेका छन् । रुपन्देहीका दक्षिणी क्षेत्रका नागरिकले भने सिचाई, शिक्षा, स्वास्थ्यमा पहुँचको अपेक्षा सहित मत खसालेका छन् । मर्चवारदेखि बुटवलसम्मका मतदाताले आफूहरुको दैनिकि सहज रुपमा चल्ने वातावरण बनाउन माग गरेका छन् । रोहीणी गाउँपालिकाका दीवाकर साहनीले नेताहरुले सधै झुक्याएकाले त्यति विश्वास नगरेको बताए । उनले भने —“हामीले भोट त दिन्छौं, तर जनताको काम गर्दैनन ।”