राष्ट्र बैंकले प्रदेशस्तरका कार्यालय संचालन गर्ने

१४ बैशाख २०७६, शनिबार १४:२२

काठमाडौं , नेपाल राष्ट्र बैंकले आफ्नो कार्यासञ्‍चालन संघीयताअनुसार अघि बढाउने भएको छ। राष्ट्र बैंकले संघीयता कार्यान्वयनको लागि सातै प्रदेश कार्यालय सञ्‍चालन गर्ने जनाएको हो। अन्य ६ वटा प्रदेशका राष्ट्र बैंककको कार्यालय रहे पनि कर्णाली प्रदेशमा शाखा सञ्‍चालनमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ। ‘कर्णाली प्रदेशको सुर्खेतमा शाखा सञ्‍चालन गर्नको लागि घर भाडामा लिन टेण्डर प्रकिया अघि बढाइएको छ’ शनिबार नेपाल राष्ट्र बैंकको ६४ औँ साधारणसभामा गभर्नर चिरञ्जीवी नेपालले भने। डेपुटी गभर्नर शिवराज श्रेष्ठका अनुसार कर्णाली प्रदेशका अर्को महिनादेखि शाखा सञ्‍चालन गरिने भएको छ। राष्ट्र बैंकका गभर्नर नेपालका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको निक्षेप ३० खर्ब नौ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप खाता दुई करोड ५७ लाख पुगेको छ। हालसम्म ७२४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोलिएको छ।