राष्ट्रिय उपभोक्ता मंचको १४ औ स्थापना दिवस सम्पन्न

२९ भाद्र २०७६, आईतवार १३:३३

ललितपुर, उपभोक्ता अधिकारका निम्ती कृयाशिल राष्ट्रिय उपभोक्ता मंचले आफ्नो १४ औ स्थापना दिवस तथा साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्वमा बालकुमारीमा आयोजित कार्यक्रमको उद्घाटन संघीय संसदको प्रतिनिधी सभा अन्तर्गतको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल प्रसाद श्रीवास्तवले गर्नु भयो । कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै सभापति श्रीवास्तवले आम उपभोक्ताको हक र अधिकारका निम्ती राष्ट्रिय उपभोक्ता मंचले अभियान संचालन गर्दै आएको बताउदै निर्भिकतापूर्वक अघि बढिरहन सुझाव दिनु भयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै मंचका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता, ब्यवसायी र सरकार बिच पुलको रुपमा मंचले काम गर्दै आइरहेको जनाउदै उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्नेलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ भन्दै उपभोग्य अधिकारलाई कुंठित गर्ने जो कोहीलाई पनि कानुनको कठघरामा उभ्याउन मंच लागि पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सांसद कृष्णलाल महर्जन तथा प्रदेश सांसदद्वय ज्ञानेन्द्र लाल शाक्य र माधव पौडेलले मंचलाई वार्षिकोत्सवको शुभकामना ब्यक्त गर्दै आम उपभोक्ताहरुलाई बढि भन्दा बढि राहत दिदै जान सकोस् भन्ने आसय सहितको मन्तब्य ब्यक्त गर्नु भयो ।

त्यस्तै, वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले राष्ट्रिय उपभोक्ता मंचले आम उपभोक्ताहरुको उपभोग्य अधिकारको सुनुश्चितताका लागि खेल्दै आएको भूमिकाको सर्हना गर्दै सरकारको लागि सहयोगीको भूमिका निर्वाह गर्दै आएको स्मरण समेत गर्नु भयो ।

कृषि विभागकी उप महानिर्देशक जानुका पंडितले नेपाल सरकारसँग सहकार्य गर्दै मंचले उपभोक्ताको हितमा काम गर्दै आएको बताउनु भयो ।