राष्ट्रपति समक्ष नवनियुक्त तीन न्यायाधीशलाई शपथ

२४ आश्विन २०७४, मंगलवार १५:४७

काठमाडौँ, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीद्धारा सर्वोच्च अदालतका तीन नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

न्यायपरिषद्को गत भदौ २९ गते बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति रहेको थियो ।