राष्ट्रपतिद्धारा भक्तपुरमा प्रसिद्ध नवदुर्गाको पूजार्चना

१९ आश्विन २०७४, बिहीबार १३:५३

काठमाडौं, १९ असोज । कोजाग्रत पूर्णिमा अर्थात् बडादशैँको अन्तिम दिनको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजार्चना गर्नुभएको छ ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजेर १५ मिनेटमा मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी सुवर्ण वनमाला र नकी विजेश वनमालाले नवदुर्गाको दर्शन गराउनुभएको थियो ।

नवदुर्गाका अर्का पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो । त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो ।

राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही रु ५०५ का दरले दक्षिणा दिनुभएको थियो । देवगणले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने कुरा राष्ट्रपतिसमक्ष माग गरेका थिए ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रजिअ द्रोण पोखरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रहरी उपरीक्षक किरण राणा, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख, सरकारी कार्यालयको कर्मचारीलगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।