रामेछापका ब्यवसायीले अर्धनग्न जुलुस निकाले

४ असार २०७५, सोमबार १०:४६

असार ४, काठमाडौं ।

बीपी राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै सोमबार रामेछाप सदरमुकाम मन्थलीका ब्यवसायीले अर्धनग्न जुलुस निकालेका छन् ।

बिपी राजमार्गको सिन्धुली खुर्कोट सडकमा ठूला सवारी साधान चलाउन पाउनुपर्ने माग सुनुवाई नभएको विरोधमा उनीहरुले अर्धनग्न अवस्थामा जुलुस निकालेका हुन् ।

सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । सिन्धुली प्रशासनले तराईबाट आएका ठूला मालवाहक गाडी सिन्धुलीमाडीमै रोकेर राखेपछि रामेछापमा सामान ढुवानी प्रभावित भएको छ ।

 

रामेछापका जनतालाई ठूलो सास्ती हुँदा पनि राज्य बेखबर रहेको व्यवसायीहरुको आरोप छ ।

 

आन्दोलनपछि देवकोटा चोकमा भएको कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले ढुवानी समस्याका कारण रामेछापका जनताले उपभोग्य सामान किन्नै नसक्ने गरी महंगिदा पनि सरकार रमिते बनेको आरोप लगाए ।

 

उनले माग पूरा नभएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिए । सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गमा १० टन भन्दा बढी भार भएका गाडी सञ्चालन गर्न रोक लगाएपछि ७ दिनदेखि रामेछापबासी आन्दोलनमा छन् ।