राप्रपाको एकता भाँडिएको छैन, मंसिर दोस्रो साताभित्र हुन्छः दीपक बोहोरा

२६ कार्तिक २०७५, सोमबार १५:३४

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोराले राप्रपा एकता वार्ता नभाँडिएको दाबी गरेका छन् ।

उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अधिकांश विषयमा सहमति भइसकेको बताएका छन । भने एकीकृत राप्रपा राष्ट्रवादीसँग छलफल चलिरहेको छ र मंसिर दोस्रो सातासम्म एकता घोषणा हुनेछ ।

आइतबार दिउँसो राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणालाई भेटेपछि राप्रपा अध्यक्ष कमल थापाले पार्टीको बैठकमा एकता प्रयास भाँडिएको ब्रिफिङ गरेको नेताहरुले बताएका थिए । तर, वार्ता प्रक्रियामा सक्रियताका साथ लागी परेका राप्रपा प्रजातान्त्रिकका नेता बोहोराले एकता वार्ता नभाँडिएको जिकिर गरे ।

उनले एकता महाधिवेशनले तय गरेको सैद्धान्तिक आधारहरुलाई सबैले स्वीकार गरेको बताए । चुनाव चिन्हको हकमा भने छलफल भएको उनले स्वीकार गरे । बोहोराले भने, ‘दुबै पार्टीको चुनाव चिन्ह हाललाई स्थगित गर्ने र एक वर्षभित्र महाधिवेशनबाट निर्णय गर्ने सहमति भएको छ ।’राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अधिकांश विषयमा सहमति भइसकेको दाबी गर्दै बोहोरा प्रकाशचन्द्र लोहनी नेतृत्वको ए राप्रपा राष्ट्रवादीको कार्यसम्पादन समिति बैठक बस्न बाँकी रहेकाले समय लागेको बताए । ‘ बोहोराले भने, ‘अहिले पनि हामी सम्वादमै छौं । मंसिर दोस्रो साताभित्र एकता घोषणा हुन्छ ।’बैकल्पिक राष्ट्रवादी शक्ति निर्माणका लागि विभिन्न खेमामा रहेका राप्रपाको एकता अनिवार्य भएको उनले बताए ।