राजस्व छल्न सांग्रिला डिस्टिलरीद्वारा नक्कली स्टिकर प्रयोग, प्रबन्धक उप्रेती र उत्पादन अधिकृत महतोलाई पक्राउ

८ चैत्र २०७४, बिहीबार १०:२९

चैत ८, काठमाडौं ।

राजस्व छल्न धनुषाको सांगि्रला डिस्टिलरीले भारतमा छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकर रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

सुनौली नाका हुंदै भारतीय नं.प्लेटका गाडीमा भित्रिएका चारलाख नक्कली स्टिकर रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.४ मा रुपन्देही प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो

आन्तरिक राजश्व बिभागका ती स्टिकरहरु यूपी ४३ एई १६८२ नं को गाडीमा ल्याइएको हो । नक्कली स्टिकरसहित सो स्टिकर बोक्न प्रयोग भएको गाडी र गाडीका चालकसहित तीन जनालाई सोही स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

रुपन्देहीमा पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा प्रहरीले धनुषा जिल्लामा रहेको साङगि्रला डिस्टिलरीका प्रबन्धक भवानीप्रसाद उप्रेती र उत्पादन अधिकृत कामेश्वर महतोलाई समेत पक्राउ गरेर सार्वजनिक गरेको छ ।

उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्धामा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

उनीहरुमाथि अन्त शुल्क ऐन,२०५८ र मदिरा ऐन, २०३१ अन्तरगत समेत कारवाही हुने कानुनी प्रावधान छ ।

३४ रोल भएको ४ कार्टुन स्टिकरमा ५० यूपी,११८०एमएल आन्तरिक राजस्व बिभाग लिक्वर उल्लेख छ । उक्त स्टिकरको प्रति रोलमा २ हजार ९ सय ४० का दरले ३४ थानबाट अन्दाजी ३ लाख ९९ हजार,८ सय ४० थान स्टिकर बरामद भएको प्रहरीले बताएको छ ।

प्रहरीले स्टिकर बोक्न प्रयोग भएको कारमा सवार सिद्धार्थनगर नगरपालिका वार्ड नं.१ बस्ने बर्ष ४२ को बिनोद सिंह,भारत महाराजगंज सुनौली बस्ने बर्ष १८ को समसुद्दिन मुसलमान र भारत नौतनवा बस्ने बर्ष ३२ को मेल्मुद्दगद्दी मुसलमानलाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ ।

साथै सो सम्बन्धमा अन्त शुल्क ऐन,२०५८ र मदिरा ऐन, २०३१ अन्तरगत समेत कारवाही हुन सक्ने हुंदा थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय भैरहवासंग समेत समन्वय भैरहेको ।

फोटो छुट्टै छ – क्रमश नामावली फोटोको बायाबाट मास्क लगाएका व्यक्तिहरु

मेल्दुद्दगद्दी मुसलमान, बिनोद सिंह, समसुद्दिन मुसलमान, भवानीप्रसाद उप्रेती, कामेश्वर महतो ।