राजधानी मा चहलपहल बढ्यो

४ कार्तिक २०७५, आईतवार १८:५८

दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यका चाड मनाउन गएका मानिस फर्कन थालेपछीचहलपहल बढेको हो ।

शनिबार एकैदिन १२ हजार ७८९ सवारीबाट एक लाख सात हजार ३४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले बताए । आज रातिसम्म सो सङ्ख्या अझै बढ्नेछ ।

विजयादशमीअघि उपत्यका बाहिरिने सवारीको सङ्ख्या धेरै थियो भने हाल भित्रिनेको सङ्ख्या बढी छ । मानिसको चहलपहल बढेसँगै नवदुर्गाको प्रसादका रुपमा टीका जमरा थाप्न हिँड्नेको लाम पनि सडकमा देख्न सकिन्छ । यही कात्तिक २ गते विजयादशमीका दिनदेखि शुरु भएको टीका, प्रसाद र जमरा ग्रहण आश्विन शुक्ल पूर्णिमाका दिन सम्म लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आजदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन बढेको हो । गत वर्षसम्म आश्विन शुक्ल द्वादशीका दिन सम्म सरकारी कार्यालय बिदा हुने गरेकामा यस वर्ष सो बिदा हटाइएको छ ।यसैबीच चाडबाडको मौका छोपेर बढी भाडा असुल गर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।