रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

९ भाद्र २०७६, सोमबार १९:०७

काठमाडौं , टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो।

पत्रकार युवराज कँडेल तीन लाख धरौटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो।

उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए।

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो। रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो। लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।