यू–१९ विश्वकप छनाेट : नेपालले ओमानलाई १५० रनले हरायाे

३ बैशाख २०७६, मंगलवार १५:३६

आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ । 

मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । ३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भीम सार्की र कप्तान रोहित पाैडेलले उकासेका थिए । जसमा रोहितले ७५ रन बनाए भने भीमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ४१ रन बनाउँदा नेपालले बलियो लक्ष्य दियो । 

सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको भने ३३ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेनन् । छैटौँ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको हो । 

जवाफमा ओमान ४४ ओभर एक बलमा ७९ रनमा अलआउट भयो । 

ओमानका दुई खेलाडीबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । उसका अमनप्रित सिंहले र जील तान्नाले सर्वाधिक १३–१३ रन बनाउदा अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । 

२० रनमा पहिलो विकेट गुमाएको ओमानले २८ रन बनाउँदा चार विकेट खेर फालेको थियो । नेपालको कसिलो बलिङसामु निकै दबाबमा आएको ओमानले एकपछि अर्को विकेट गुमाउँदै ४६ रनमा ८ विकेट झार्यो ।

बलिङमा नेपालका पवन शरार्फले तीन तथा प्रतिश जिसी र सूर्य तामाङले दुई-दुई विकेट लिए ।