यू–१९ एसिया कप : नेपालले रच्यो इतिहास, भारतमाथि १९ रनको जित

२६ कार्तिक २०७४, आईतवार ०९:३५

कात्तिक २६, काठमाडौँ । नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको छ ।

कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपाल यू–१९ ले भारत यू–१९ माथि ऐतिहासिक जित हासिल गरेको हो ।

मलेसियामा भइरहेको एसीसी यू–१९ युथ एसिया कप अन्तर्गत दोस्रो खेलमा नेपालले भारतलाई हराएको हो ।

नेपालका लागि कप्तान दीपेन्द्रले ब्याटिङमा ८८ रन बनाए भने १ सय ८५ रन डिफेण्ड गर्न ४ विकेट पनि झारे ।

१ सय ८६ रनको लक्ष्य पछ्याएको भारतलाई १ सय ६६ रनमा अलआउट गर्दै नेपालले शानदार जित निकालेको हो ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

एक छेउबाट निरन्तर विकेट झरिरहेको अवस्थामा दीपेन्द्रले अर्को छेउबाट नेपालको इनिङ्स उकासेका थिए ।

समूह ए मा नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो ।