याे चुनाव हुनका लागि गरिएकाे कदम नै हाेइन : पुष्पकमल दाहाल

३ फाल्गुन २०७७, सोमबार १४:५३

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनको कदम राष्ट्र, नागरिक र लोकतन्त्रको हितमा नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।’ लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरू आन्दोलनमा रहेको बताउनुभयो ।

विभिन्न जिल्लामा विरोध सभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उहाँले सम्बोधन गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री दाहाल सोमवार दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका ७ का नरबहादुर केसीप्रति श्रद्धाञ्जली अर्पण गर्न यहाँ आउनुभएको परिवारजनले जनाएको छ । नेता दाहाल सोमवार नै काठमाण्डौ फर्किने कार्यक्रम छ ।