यही चैत ४ गते परराष्ट्रमन्त्री अर्जेन्टिना जाँदै

३ चैत्र २०७५, आईतवार १७:५९

काठमाडौं , परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ४ गते सोमबार त्यसतर्फ प्रस्थान गर्ने हुनु भएको छ ।
सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चैत ७ गते अर्जेण्टिनाका विदेशमन्त्रीले एशियाली मुलुकका अधिकारीसँग आयोजना गर्ने उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुनुहुनेछ भने त्यहाँ रहँदा उहाँले विभिन्न मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नु हुने छ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारी रहनेछन् । उहाँ चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ ।