यमपञ्चक सुरु, आज काग तिहार

३१ आश्विन २०७४, मंगलवार ००:३४

असोज ३१, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सरु भएकोछ । यो चाड आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (पाँच दिन) सम्म मनाईन्छ ।

तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, कृषक पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

यसगरी, मपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ । कागलाई खानेकुरा चढाउने (बलि दिने) शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । “तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ”, उहाँले भन्नुभयो । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गर्ने गरिन्छ ।

यसैगरी, आज धन्वन्तरि जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।

आज कार्तिक कृष्ण त्रयोदशीका दिन सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतरेससमेत भनिने आजका दिन सुनचाँदीको गहना अर्थात् धनमाल किनेर ल्याउने प्रचलन समेत रहेकोछ ।