म सिकिस्त बिरामी छैनः प्रधानमन्त्री

१७ कार्तिक २०७६, आईतवार ०९:५४

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा गम्भीर अवस्था उत्पन्न भएर आफू सिकिस्त बिरामी नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै स्वास्थ्यमा केही समस्या देखा परेकाले चिकित्सकहरूले थप परीक्षण र अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वास्थ्यको विषयमा अध्यक्षले बैठकमा जानकारी गराउनुभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यमा गम्भीर अवस्था नभए पनि केही समस्या देखा परेकाले चिकित्सकहरूले परीक्षण र अनुसन्धान गरिरहेका छन् । ” उहाँले प्रधानमन्त्रीको स्वास्थ्यबारे रिपोर्ट आएपछि चिकित्सकको सल्लाहअनुसार उपचारको ‘कोर्स’बारे आवश्यक निर्णय हुने बताउनुभयो । उहाँले अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँको केही महिनाअघि सिङ्गापुरमा ‘प्लाज्माफेरेसिस’मार्फत रगतमा रहेको ‘एन्टिबडी’ निष्कासन गरिएको थियो । अहिले उहाँको स्वास्थ्यमा समस्या देखिएपछि ग्रान्डी अस्पतालमा दुई पटक डायलासिस गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।