मोदीको जादुमय भाषणले जनकपुरबासी मन्त्रमुग्ध

२८ बैशाख २०७५, शुक्रबार ०९:३५

वैशाख २८, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा नेपाल र भारतको ऐतिहासिक सम्बन्धको गुनगान गाएका छन्। । मोदीको जादुमय भाषणले जनकपुरबासी मन्त्रमुग्ध
भएका छन् ।

जनकपुरमा नागरिक अभिनन्दनपछि अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो प्रसस्तियुक्त सम्बोधनमा जानकी धामबिना अयोध्या अधुरो रहेको बताए । ‘नेपालबिना भारतको आस्था अधुरो छ, नेपालबिना भारतको इतिहास र आस्था अधुरो छ’, उनले भने ।

उनले भारतको छिमेकी पहिले भन्ने नीतिमा नेपाल एक नम्बरमा रहेको बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध कुनै परिभाषाबाट होइन भाषाबाट जोडिएको दाबी गरे। ‘यो आस्थाको भाषा हो, यो आफ्नोपनको भाषा हो, यो रोटीको भाषा हो यो बेटीको भाषा हो,’ मोदीले भने ।

‘नेपाल र भारतको सम्बन्ध राजनीति, कूटनीति, समरनीतिभन्दा अलग देवनीतिले जोडिएको छ। व्यक्ति र सरकार आउँछन् जान्छन् तर हाम्रो सम्बन्ध अजर अमर छ,’ मोदीले थपे ।

उनले विकासको पहिलो सर्त लोकतन्त्र भएको जनाउँदै चुनावपछि गठित नयाँ सरकारमा जनआकांक्षा पूरा गर्ने जिम्मेवारी रहेको पनि उल्लेख गरे ।

उनले चुनाव सफलताका लागि सरकारलाई बधाइ समेत दिए ।