मोटरसाइकलको नम्बरमा, प्रदेशको नामाकरणपछि फेरि झञ्झट

९ कार्तिक २०७५, शुक्रबार ०८:५८

 

साविक बागमती अञ्चलको मोटरसाइकल दर्ता प्रक्रिया प्रदेशअनुसार सुरु भएको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशअनुसार दर्ताको बाटो खुलाएपछि मोटरसाइकल दर्ता प्रक्रिया सुरु भएको हो ।

संविधानबाट हटिसकेको अञ्चल गाडीको नम्बरप्लेटमा यथावत रहँदै आएकोमा साविक बागमती अञ्चलमा मोटरसाइकलको लट ९९ सम्म पुगेपछि असोज १६ गतेदेखि यातायात व्यवस्था विभागले मोटरसाइकल दर्ता प्रक्रिया रोकेको थियो । साविक बागमती अञ्चलमा ९९ लट पुगेको मोटरसाइकल दर्तालाई १ सय लटबाट क्रमशः १ सय १ बनाउँदै दर्ता प्रक्रियालाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जोड रहेको थियो ।उक्त प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकृत गरेपछि प्रदेश नम्बरअनुसार नै मोटरसाइकल दर्ता गर्ने निर्णय गरेको हो । मोटरसाइकल नम्बरप्लेटमा अब पहिला अञ्चल लेखिएको ठाउँमा प्रदेश कायम गरिनेछ । राजपत्रमा प्रकाशित भएपछि अब दर्ता सुरु गरिने विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकल दर्ता शाखा सतुङ्गलका प्रमुख गणेश अर्यालका अनुसार अब प्रदेशअनुसार मोटरसाइकल दर्ता प्रक्रिया सुरु गरिनेछ ।

हालसम्म सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको नामाकरण भए पनि प्रदेश ३ को नामाकरण नभएसम्म मोटरसाइकलको नम्बरप्लेटमा प्रदेश नम्बर नै लेखिने र प्रदेशको नामाकरण भएपछि प्रदेशको नाम लेखिने प्रमुख अर्यालले बताए । प्रदेश नम्बर ३ को नामाकरण भएपछि फेरि नामअनुसार परिवर्तन गर्नुपर्नेछ । साविकअनुसार नै नम्बर भएका मोटरसाइकलका हकमा भने सरकारको अर्को निर्णय नआएसम्म उक्त नम्बर प्लेटका मोटरसाइकल यथावत सञ्चालनमा रहनेछन् ।