मेट्रो रेलको डीपीआर सम्झौता

९ माघ २०७६, बिहीबार ११:४७

काठमाडौं, राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक) देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ ।

रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी)बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सम्झौता भएको जानकारी रेल विभागका महानिर्देशक बलराम मिश्रले दिए ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले सम्झौता भएको एक वर्षभित्र ‘डीपीआर’को प्रतिवेदन रेल विभागलाई बुझाउने कार्यक्रम छ । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चाप सडक यातायाले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित यो योजना अगाडि सारिएको हो ।

महाराजगञ्जदेखि रत्नपार्क हुँदै सातदोबाटो पुग्ने गरी ‘एलाइनमेन्ट’ तयार पारिएको प्रस्तावित सो मेट्रो रेलमार्गको कुल लम्बाइ १२ किलोमिटर हुनेछ । मिश्रका अनुसार यस मेट्रो रेल खण्डको पूर्वसम्भाव्यता अध्ययन यसअघि नै तयार भइसकेको छ ।

महाराजगञ्ज–बूढानीलकण्ठ–टोखा सडकखण्डमा र सातदोबाटोदेखि खोकनासम्म मेट्रो रेल निर्माण गर्ने लक्ष्य रेल विभागको रहेको छ । काठमाडौंको टोखादेखि महाराजगञ्ज चोकसम्म र सातदोबाटोदेखि खोकनासम्मको पूर्वसम्भाव्यता अध्ययन गर्न अझै बाँकी नै रहेको बताउँदै उनले सो खण्डको पूर्वसम्भाव्यता अध्ययन गर्नका लागि परामर्शदाता कम्पनी छनोट गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

काठमाडौं उपत्यकाको यातायातको व्यवस्थापन तथा सुन्दर र स्वच्छ सहर निर्माण गर्ने उद्देश्यसहित विगत एक दशकदेखि काठमाडौमा मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने विषय चर्चामा छ । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे सन् २०१२ मा नै कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो ।

सो अध्ययन प्रतिवेदनले सम्भव देखाएको अधिकांश ‘एलाइनमेन्ट’को आजसम्म पूर्वसम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन । (आजको गोरखापत्र दैनिकबाट)