मुस्ताङका पर्यटक बागलुङमा

१२ कार्तिक २०७५, सोमबार १०:३९

बागलुङ  पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका छन।

मुस्ताङ र म्याग्दीमा यो सिजनमा धेरै पर्यटक जान्छन् बागलुङका होटल व्यवसायी निलेश राजभण्डारीले भने,त्यहाँ ठूलो क्षमताका होटल छैनन् त्यसैले होटल खोज्दै बागलुङ आउछन् ।
होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले भने मुस्ताङ जानका लागि म्याग्दी आउने पर्यटकलाई छिमेकी जिल्ला पर्वत तथा बागलुङका होटलमा पठाउने गरिएको छ ।

बागलुङमा ठूला क्षमताका होटल भए पनि मुस्ताङ र म्याग्दीमा ठूला क्षमताका होटल  छैनन् । मुस्ताङ जान आउने पर्यटक सिधै मुस्ताङ नगइकन म्याग्दीमा बास बस्नुले होटलको माग बढेको म्याग्दीका होटल व्यवसायी बताउँछन् ।मुस्ताङबाट फर्कदा म्याग्दीको भुरुङ तातोपानी बस्ने योजना बनाएका फ्रान्सेली नागरीक डेविट होटल नपाउँदा बागलुङ बजारको पिस प्यालेसमा बास बस्न आएको बताउँछन् । विगतका वर्षमा भन्दा यो वर्ष अत्यधिक भएको पर्यटन व्यवसायी बताउँछन् ।