मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति भण्डारी

२२ जेष्ठ २०७६, बुधबार १३:४३



बाँके , राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनु भएको छ । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनु भयो ।

राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताउनु भयो । उहाँले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनु भयो ।