“मुठी”चिह्न लिएर वैद्य माओवादी निर्वाचनमा जाने

६ आश्विन २०७४, शुक्रबार ०४:२५

असोज ६, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ ।

क्रान्तिकारी माओवादीको बिहीबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । यसअघि दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको उक्त पार्टीले स्थानीय तह निर्वाचनमा भने ‘उपयोग गर्ने’ रणनीतिअनुसार सहभागी भएको थियो   । संविधानसभा बहिष्कार गरी संविधानप्रति असहमति जनाउँदै आएको वैद्य नेतृत्वको माओवादीले निर्वाचनमा सहभागी हुने निर्णय गर्दै ‘मुठी’ चिह्न लिएर निर्वाचनमा जाने भएको हो ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई बहिष्कार गरेको तत्कालीन नेकपा–माओवादीको गत वर्ष सम्पन्न केही समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको थियो । सोहीअनुरूप क्रान्तिकारी माओवादीले पार्टीका वरिष्ठ नेता सीपी गजुरेलको अध्यक्षतामा चुनावी मोर्चा बनाएको हो ।  पार्टी कार्यालय बुद्धनगरमा दुई दिनसम्म चलेको केन्द्रीय सचिवालय बैठकले प्रदेश तथा प्रतिनिधिसभामा मोर्चा सहभागी हुने निर्णय गरेको पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का अध्यक्ष गजुरेलले जानकारी दिए ।  ‘स्थानीय तहको निर्वाचनको तयारी थिएन, समय थोरै थियो, हामीलाई निषेध गर्न पनि खोजियो तर हामी मोर्चालाई स्थापित गर्न सफल भएका छौं ।’ स्थानीय तह निर्वाचनमा अपेक्षाकृत सफलता नपाए पनि मोर्चालाई स्थापित गराउन सफल भएको गजुरेलको भनाइ छ ।

 

‘अहिले परिस्थिति बदलिएको छ, हिजो हामी स्थापित थिएनौं, तीन दलको सिन्डिकेट थियो, हामीसँग निर्वाचन चिह्न पनि थिएन,’ उनले भने, ‘अहिले मोर्चा दर्ता भएको छ, हामीसँग निर्वाचन चिह्न पनि छ ।’ आगामी मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा क्रान्तिकारी माओवादी आफ्नो चुनावी मोर्चा देजमोको चुनाव चिह्न ‘मुठी’ लिएर निर्वाचनमा भाग लिने भएको छ ।

उम्मेदवार चयन सुरु

घोषणापत्रको जिम्मा गजुरेललाई

मुठी चिह्न लिएर भिड्ने

स्थानीय तहको निर्वाचनमा दलीय चुनाव चिह्न नपाएपछि स्वतन्त्र हैसियतमा निर्वाचनको उपयोग गरेको मोर्चाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले देजमोलाई दलीय हैसियतमा ‘मुठी’ निर्वाचन चिह्न दिएको छ । निर्वाचन आयोगमा दल दर्ता भएपछि मोर्चाले समानुपातिक निर्वाचनका लागिसमेत आयोगमा दल दर्ता गराएको छ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि मोर्चाको बैठक बसेर निर्वाचनलाई ‘क्रान्तिकारी उपयोग’ गर्ने निर्णय गरेको देजमोका अध्यक्ष गजुरेलले जानकारी दिए ।  मोर्चा बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि समानुपातिक सूची जिल्लाजिल्लाले १७ असोजभित्र केन्द्रमा पठाउन निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै मोर्चाले निर्वाचन घोषणापत्र तयार गर्न अध्यक्ष गजुरेलसहित परि थापा, कमल चौधरी, केबी गुरुङ अम्बिका मुडभरी रहेको पाँच सदस्यीय समितिसमेत गठन गरेको छ ।

मोर्चाको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामवालीसमेत केन्द्रमा पठाउन जिल्ला समितिलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । प्रथम चरणमा सम्पन्न हुने जिल्लाहरूको यही २५ असोजसम्म र दोस्रो चरणको ५ कात्तिकसम्म उम्मेदवारहरूको नामावली केन्द्रीय कार्यालय पठाइसक्नसमेत निर्देशन दिने निर्णय गरेको देजमोका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेलले जानकारी दिए ।

राष्ट्रिय सम्मेलन असोज २१ बाट

यसैबीच क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन २१ देखि २५ असोजसम्म पोखरामा हुने भएको छ । बैठकले सम्मेलन र निर्वाचनको तयारी एकैसाथ अगाडि बढाउने निर्णय गरेको देजमोका अध्यक्ष गजुरेलले जानकारी दिए । ‘हामीलाई केही कठिन होला, तर हामी माझ दुवै कार्यभार रहेका छन्,’ उनले भने, ‘हामी दुवै कार्यभारबाट पछि हट्न सक्दैनौं, सम्मेलन र निर्वाचनको तयारी हामी एकैसाथ अगाडि लैजान्छौं ।’