मिडिया काउन्सिलसम्बन्धी विधेयक फर्काएर लैजानुहोस्ः बालकृष्ण खाँड

३१ बैशाख २०७६, मंगलवार १३:४४

काठमाण्डौ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायकासाथ सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएको भन्दै गम्भीर आपत्ती जनाउनु भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभुति गर्छु भन्ने सरकारले विधेयक ल्याउँदा मौलिक अधिकारलाई नै कुण्ठित गर्ने किसिमको ल्याएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘हजुरको सरकारले विधेयक ल्यायो । नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक । यो विधेयक विल्कुलै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, वैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको छ । त्यसैले यो फर्काएर लैजानुहोस् भन्ने हाम्रो आग्रह छ ।’

मानवअधिकारको स्वायत्तता र स्वतन्त्रता खण्डित गर्ने किसिमको मानव अधिकार विधेयकलाई पनि फिर्ता लैजान उहाँले माग गर्नुभयो । उहाँले बजेट बनाउँदा संविधानले गरेको व्यवस्थालाई कार्यान्वयनमा लैजाने गरी ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो ‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यू, सम्माननीय अर्थमन्त्री ज्यू, र हजुरको सरकारलाई बजेट बनाउँदाखेरी संविधान पढेर मौलिक अधिकार कार्यान्वयन अगाडि लाने खालको बजेट बनोस् ।’

जेष्ठ नागरिकको हक, शिक्षाको हक तथा शिक्षासम्बन्धी संविधानमा उल्लेखित व्यवस्था व्यवहारमा कार्यान्वयन गर्नका लागि आवश्यक योजना तर्जुमा गर्न उहाँले गम्भीर ध्यानाकर्षण गराउनुभयो ।