मालपोत कार्यालय चाबहिलका प्रमुख सहित कर्मचारी पक्राउ

१४ आश्विन २०७५, आईतवार ०९:१५

 

मालपोत कार्यालय चाबहिलका प्रमुखकै मिलेमतोमा धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री भएको खुलेको छ ।

प्रहरीले मालपोत प्रमुखसहित थप चार कर्मचारीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय चाबहिलका प्रमुख उपसचिव कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीसहित नासु चन्द्रबहादुर श्रेष्ठ र कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महजर्नलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।

चाबहिल मालपोतका थप चार कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् ।

उनीहरूको बयानमा कार्यालय प्रमुखकै संलग्नता खुलेको हो । यसअघि पक्राउ परेका कर्मचारीले कार्यालय प्रमुख तिमल्सिनाको निर्देशनअनुसार नै जग्गा पासको काम भएको उनीहरूको बयान छ ।

त्यस्तै, मालपोत कार्यालयका कर्मचारीहरूले जग्गा धनीका फोटो परिवर्तनमा सहयोग गरेको आशंका गरिएको छ । व्यवसायी चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा एक महिनाअघि उनलाई थाहा नै नदिई नक्कली कागजपत्रका आधारमा बिक्री भएको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

पक्राउ पर्दा पनि जागिर कायमै
सुरक्षा संगठनमा कार्यरत फौजदारी अभियोगमा पक्राउ परेलगत्तै निलम्बनमा पर्ने गर्दछन् । तर, निजामती कर्मचारीहरू भने जेल चलान हुँदासमेत निलम्बनमा पर्ने गरेका छैनन् । भूमाफियासँग मिलेर धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने आठ कर्मचारी पक्राउ परे पनि उनीहरूलाई निलम्बन गरिएको छैन ।

त्यस्तै, गत महिना कम्पनी रजिस्ट्रारको कार्यालयका ६ कर्मचारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो९सिआइबी०ले मुद्दा दायर गरेको थियो । नक्कली कागजपत्रका आधारमा कम्पनी बिक्री गरेको आरोपमा दुई उपसचिवसहितका कर्मचारीविरुद्ध मुद्दा दायर भयो । उनीहरूलाई चार लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

पत्रपत्रिकाबाट