मानव बेचबिखन तथा दुरुपयोग रोक्न जनचेतना फैलाऔं

१० आश्विन २०७७, शनिबार ०९:१९

डा डीआर उपाध्याय,
काठमाडौं , मानव बेचबिखनका समाचार बिभिन्न सञ्चार माध्यममा आएका छन् । ती समाचार पढ्दा, सुन्दा अनि टेलिभिजनमा देख्दा ज्यादै दुख्ख लाग्ने गर्छ । मानव बेचबिखन नियन्त्रण गर्न सरकार लागेको त छ तर त्यति प्रभावकारी ढङ्गले लागेको देखिदैन । दलालहरूले सामान्य नागरिकलाई ललाइफकाई सिमाना कटाउने गरेका समाचार आउछन । ती समाचारले चसक्क मन पोल्छ । अनि केही लेखौ जस्तो लाग्छ ।

छिमेकी भारत तथा अन्य मुलुक पुर्‍याएर दलालहरूले आफूअनुकूल प्रयोग गर्ने धन्दा चलाएका छन् । यो क्रम अझै रोकिएको छैन। महिला तथा बालबालिकाहरु बेचिएका छन् । कतिपय घटनाबारे समयमै थाहा पाएर प्रहरीले उद्धार गरेको समाचार पनि आउछ । मीठा प्रलोभन देखाएर दलालहरूले महिला तथा बालबालिकाहरूलाई सिमाना कटाउने गरेका छन् । यो ठूलो अपराध हो, यसको नियन्त्रणका लागी सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने देखिएको छ । थुप्रै महिला तथा बालबालिकाहरुलाई कष्टकर जीवन बिताउन बाध्य पारिएको छ ।

हालै मात्र सुनसरीकी एक किशोरी सम्भावित मानव बलिको जोखिमबाट उम्केको समाचार आयो । मानव बेचबिखन निर्मूल गर्न नेपाल सरकारले तीन दशकदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो क्षेत्रमा क्रियाशील सामाजिक सङ्घ, संस्थाहरू पनि धेरै छन् । तर, पनि हरेक वर्ष बेचबिखनमा पर्नेको सङ्ख्या बढदो नै छ । थुप्रै नागरिक बेचबिखनको जोखिममा पर्नु भनेको दुःखद पक्ष हो । बेचबिखनमा विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिक पर्ने गरेका छन् । अशिक्षाको कारणले यो समस्या निम्तिएको हो ।

बेरोजगारी समस्याले गर्दा यी समस्या निम्त्याइरहेको छ । हाम्रो देशमा शिक्षित व्यक्तिहरू समेत बेरोजगार छन् । बेरोजगारका कारण अपराध कार्यमा लाग्नेको सङ्ख्या बढिरहेको छ । यस्तो विकृति मौलाउनुको मूल कारण बेरोजगारी समस्या हो । पक्राउ परेका दलाललाई कडा भन्दा कडा सजाँय हुनुपर्छ । त्यसो भयो भने मात्र यस्ता कार्यहरू निर्मूल हुन सक्छन । स्थानीय तहबाटै मानव बेचबिखन तथा दुरुपयोग रोक्न जनचेतना फैलाउदै जानुपर्छ । तीनै तहका सरकारले यो बिषमा गम्भिरता देखाउनु पर्ने आबश्यकता छ ।

मानव बेचबिखनका लागि सरकारले विमानस्थल तथा छिमेकी मुलुकका नाकामा हेल्प डेस्क राखेको छ । तर, यीभन्दा फरक नाका प्रयोग गरेर नागरिक बेचबिखन हुने गरेको पाईन्छ । सडकमार्ग हुँदै भारतसम्म पुर्‍याउने र अन्य मुलुक पुर्‍याउने धन्दा बढिरहेको छ । अव यस बिषयमा जनचेनतना फैलाउनु पर्ने आबश्यकता देखियो । जनचेनतनाले नै मात्रै यस्ता घटना निर्मूल पार्न सकिन्छ । मानव बेचबिखन तथा दुरुपयोग रोक्नका लागि सचेतना अभियान आवश्यक छ ।