माधुरी दीक्षितको इन्ट्रीपछि सञ्जय दत्तले छोडिदिए फिल्म, दत्तले कानूनी उपचार खोज्ने बताए

९ चैत्र २०७४, शुक्रबार १०:४३

चैैत ९, काठमाडौं ।

बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दीक्षित कुनै समयका हिट जोडी हुन् । उनीहरुबीच रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि प्रेम थियो ।


तर, त्यो प्रेम असफल भयो । दुवैले आ-आफ्नो सुरले बिहे गरे । त्यसयता सञ्जय र माधुरी कहिल्यै एउटै फिल्ममा देखिएनन् ।

पछिल्लो खबरअनुसार सञ्जय दत्तले माधुरी दीक्षितकै कारण एउटा फिल्म छोडेका छन् । हालै श्रीदेवीको मृत्यूपछि निर्देशक अभिषेक वर्मनले आफ्नो फिल्ममा श्रीदेवीको ठाउँमा माधुरीलाई लिए ।

र, यो फिल्ममा सञ्जय दत्तलाई पहिले कास्ट गरिएको थियो । तर, अब सञ्जय दत्त सो फिल्मबाट पछि हटेका छन् । माधुरी फिल्ममा अनुबन्धित हुनासाथै सञ्जय ब्याक भएका हुन् ।

पछिल्लो पटक सञ्जय र माधुरी फिल्म ‘खलनायक’ मा सँगै देखिएका थिए । सुभाष घईको निर्देशनमा बनेको यो फिल्म १९९३ मा रिलिज भएको थियो । यद्यपि फिल्ममा माधुरीका जोडी जैकी श्राफ थिए ।

निर्देशक राजकुमार हिरानी सञ्जय दत्तको बायोपिक बनाइरहेका छन्, जुन यसै वर्ष रिलिज हुनेवाला छ ।

माधुरीले सञ्जय दत्तलाई फोन गरेर उक्त वायोपिकमा आफूहरुबीचको प्रेम प्रसंग नदेखाउन आग्रह गरेको खबर गत वर्ष फेलिएको थियो । तर पछि माधुरीले यसको खण्डन गरेकी थिइन् ।

हालै आएको सञ्जय दत्तको विवादास्पद बायोग्राफीमा उनको माधुरीसँगको प्रेमबारे वर्णन गरिएको छ । तर, सञ्जय दत्तले यो बायोग्राफी आफ्नो अनुमतिबिना प्रकाशित गरिएको भन्दै कानूनी उपचार खोज्ने बताएका छन् ।