माधव नेपाल चीन भ्रमणमा

१५ आश्विन २०७५, सोमबार १६:१२

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको असन्तुष्टि कार्यकर्ता तहमा पोखिन थालेपछि अध्यक्ष प्रचण्डले असन्तुष्ट नेता माधवकुमार नेपाललाई सम्झाउने प्रयास गरेका छन् । नेपाल चीन जानुअघि प्रचण्डले सिंगापुरबाट टेलिफोन गरी स्थायी कमिटी बैठकबाट असन्तुष्टि सम्बोधन हुने आश्वासन दिएको स्रोतले जनाएको छ ।

आफू नभएको बेला केन्द्रीय सचिवालय बैठकबाट प्रदेश पदाधिकारी एकलौटी रुपमा चयन गरिएको र कार्यवाहक आध्यक्षसमेत नदिइ दुवै अध्यक्ष विदेश गएपछि नेपालले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले स्थायी कमिटी सदस्यहरुलाई भेलासमेत गरेपछि नेकपाको विवाद बाहिर आएको हो ।

स्रोतका अनुसार प्रचण्डले प्रदेश पदाधिकारी चयनको विषय यो हदसम्म विवादित होला भन्ने आफूले नसोचेको बताएका थिए । सचिवालय बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र ईश्वर पोखरेलको धेरै जोडबलमा अर्का अध्यक्ष ओली समेतको चाहना बुझेर आफूले निर्णयमा साथ दिएको प्रचण्डको भनाइ थियो ।

प्रचण्डसँगको कुराकानीपछि नेपाल चीन भ्रमणमा गएका छन् । ओली र नेपाल एकै दिन स्वदेश फर्किने कार्यक्रम छ । नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनको निर्णय अस्वीकार गरेपनि नेपाल निकट प्रदेश इन्चार्जहरुले आआफ्नो प्रदेशका बैठक राखिसकेका छन् ।

प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया अघि बढाउन गृहकार्य सुरु गरिएको बताइन् । त्यस्तै नेपाल निकट मानिने सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले पनि बैठक राखेर जिल्ला कमिटी एकीकरण कार्यदलहरुलाई रिपोर्ट बुझाउन निर्देशन दिइसकेका छन् ।