माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती : अध्यक्ष दाहाल

१० मंसिर २०७४, आईतवार ०५:२४

मंसिर १०, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।

 

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  बाह्र वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।   सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो । माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नं. को बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । वि.सं. २०६२ जेठ २३ गते घटना भएको हो ।

 

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुगेका हुन्। यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन । चितवन क्षेत्र नं. ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका हुन् ।   आज दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदैछ । दाहाल सोमबार दिनभर पनि चुनावी कार्यक्रमअन्तर्गत माडीमा रहने कार्यक्रम छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर माडी जानुपर्ने हुन्छ । कडा सुरक्षाका साथ प्रचण्ड माडी हुँदै बाँदरझुला पुगेका हुन् । समय मिलेमा आज दिउँसो ठोरीको सोनापुरसम्म जाने कार्यक्रम रहेको बताइएको छ । रासस