महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान

१३ माघ २०७७, मंगलवार १५:०५

 

मसुरीया देउखुरी दाङ । लुम्विनी प्रदेश दाङ जिल्लाको राप्ती गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सहयोगको उच्च मुल्याङकन गर्दै सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल प्रदान गरेको हो । राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा भएको एक कार्यक्रमका विच स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल प्रदान गरिएको हो ।

सिसहनिया स्वास्थ्य चौकी तथा लालमटिया स्वास्थ्य चौकीको रोहवरमा कार्य गर्दै आउनु भएका ६४ जना स्वयंसेविकाहरुलाई साईकल प्रदान गरिएको छ । समुदायस्तरमा समुदायकै महिलाहरुको सहभागितामा स्वास्थ्य सम्बन्धि परामर्श, सेवा र सल्लाह वृद्धि गर्ने उद्धेश्यका साथ स्वास्थ्य स्वयंसेविकाहरुलाई आवागमनमा सहजताका लागि साईकल प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताउनु भएको छ ।

स्वास्थ्य स्वयंसेवी भावनाले प्रेरीत र समुदायमा निःशुल्क रुपमा स्वास्थ्य सम्बन्धि परामर्श, सेवा तथा सहयोगको लागि जानकारी प्रदान गर्नको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेल्दै आएको भुमिका प्रति राप्ती गाउँपालिका सदैव कृतज्ञ रहेको साईकल वितरण कार्यक्रममा प्रमुख अतिथि रहनु भएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ ।

अध्यक्ष नुमानन्द सुवेदिले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरि महिला स्वास्थ्य स्वयंसेविकाले आफुले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो गाउँघरमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसित समन्वय गरी समुदायस्तरमा प्रचार प्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरु समेत प्रदान गर्ने गरेकोमा धन्यवाद समेत दिनु भएको छ ।

साईकल वितरण कार्यक्रममा राप्ती गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष सरिता भुसाल, राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विक, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसी, स्वास्थ्य शाखा सह संयोजक भारती संयासी लगायतको सहभागिता रहेको थियो ।