महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको छः उपराष्ट्रपति पुन

२५ फाल्गुन २०७५, शनिबार १९:०७

काठमाडौं, उपराष्ट्रपति नन्द बहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताउनु भएको छ । नेपाल महिला चेम्बरको आयोजनामा शक्रबार राजधानीमा आयोजित अन्तर्रा्ष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने कुरा उहाँले बताउनु भयो । “इतिहासमा महिलाहरुमाथि संसारभर भएको विभेदले नारीहरुलाई सचेत र जागरुक बनाएको हो“, उपराष्ट्रपति पुनले भन्नु भयो , । महिलाहरुले आफ्नो हक, अधिकार र अवसर प्राप्तीको लागि गरेको कठोर संघर्षको प्रतिफल स्वरूप नारी जगत आज समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र–निर्माणमा अघि बढेको कुरा उहाँले बताउनु भयो । उपराष्ट्रपति पुनले आधा धर्ति ढाक्ने नारीहरुको अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेकोले महिलाहरुको सहभागिताको दायरा फराकिलो भएको कुरा समेत उल्लेख गर्नु भयो । देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठुलो योगदान दिएको चर्चा पनि उहाँले गर्नु भयो । तर आज देशमा यति ठुलो परिवर्तन भएपनि महिलाहरुलाई हुने घरेलु हिंशा र बलात्कार जस्तो जघन्य अपराधमा कमि आउँ नसकेकोमा उहाँले चिन्ता प्रकट गर्नु भयो ।