महामारीसँग जुध्न सक्ने मनोवल उचो बनाऔं

२५ आश्विन २०७७, आईतवार ०८:५६

डाडीआर उपाध्याय,
·

कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेको छ । काठमाडौं उपत्यका लगायत मुलुकका अन्य धेरै ठाउँमा कोरोना महामारीको संक्रमण बढेको छ । पछिल्लो समयमा आएर कोरोना संक्रमणले धेरैलाई त्रास बनाएको छ ।
महामारीको संक्रमण रोक्न र यसवाट बच्ने उपाय खोज्ने बेला आएको छ । अब महामारीको सामना गदै अघि बढनु पर्ने भएको छ । अस्पतालमा भेन्टिलेटर र कोठाको अभाव छ । बिरामीहरु समयमा उपचार नपाएर ज्यान गुमाईरहेका छन । परिस्थिती जटिल बन्दै गइरहेको छ । अव महामारीसँग जुध्न सक्ने मनोवल उचो बनाउनु पर्ने जरुरी देखिएको छ । सबै सरकारी तथा निजी अस्पतालमा सेवासुविधाको अभाव छ । सरकारले सेवासुविधा उपलब्ध गराउने कार्यमा त्यति ध्यान दिन सकेको छैन । अस्पतालले बिरामीहरुलाई आवश्यक सेवासुविधा उपलव्ध गराउन नसकेको स्वीकारी सकेको छ । अव सरकारले प्याकेजका कार्यक्रम अघि सार्नुपर्छ ।उपचारका लागि सम्भाव्य स्थान तथा औषधिको छनोट गर्नुपर्छ । महामारीको संक्रमण बढ्दै गएको छ । यस अवस्थामा उपचारको तयारीलाई तिव्रता दिनु पर्छ ।

भेन्टिलेटरको संख्यामा वृद्धि, आइसोलेसन वार्डहरूको निर्माण, सम्भाव्य औषधिको खोजी गर्नु पर्ने यो तत्कालको आबश्यकता हो । साथै अग्र पंक्तिमा रहेका डाक्टर तथा नर्सहरूको स्वास्थ्य सुरक्षा र सेवासुविधाको निकै ख्याल गरिनु जरुरी छ । संक्रमणको अग्र पंक्तिमा लड्नेका लागि सुरक्षाका हिसाबले बलियो र ढुक्क बनाइनु जरुरी छ । कोरोना संक्रमणलाई आम मानिसले सामान्य रूपमा बुझ्न थालेपछि जोखिम बढ्दै गएको हो । व्यक्तिगत होसियारी अपनाउनु पर्ने जरुरी देखिएको छ । कोरोना संक्रमणले धेरैलाई डस्न सक्ने पछिल्ला घटनाले पुष्टि गरेका छन । संक्रमणको जोखिम कम गर्न अव सवै होसीयारी हुन जरुरी छ । अव संक्रमण रोक्न जनता नै जागौँ भन्र्ने मेरो भनाई हो । महामारीमा समेत नागरिकको उपचार गर्न सक्तैनौ भन्न लाज नमान्ने शासकहरूबाट जनताले के अपेक्षा गर्ने ?
नेपालमा कोभिड—१९ को संक्रमण रोकिने लक्षण देखिएको छैन । सरकारले भने महामारीका अगाडि घुँडा टेकेको देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ‘बेहोस भएमा वा हुन लागेमात्र अस्पताल आउनु’ भन्ने अभिव्यक्ति दिन्छन । यस्तो पनि सरकार हुन्छ ? काठमाडौंका अस्पतालहरूमा कोभिड—१९ का बिरामीको उपचार गर्ने क्षमता नभएकै हो त ?
सरकार जिम्मेवार भएको भए आजको अवस्था आउने नै थिएन । नेपालसँग तयारीका लागि पर्याप्त समय थियो । मन्त्री र सरकारी अधिकारीहरूको ध्यान संक्रमण नियन्त्रणमा नगएर महामारीको निहुँमा राज्यको ढुकुटीबाट कसरी धेरै दोहन गर्न सकिन्छ भन्नेमा गयो ।
नेपाली जनता पनि कोभिड—१९ को संक्रमण र यसबाट हुनसक्ने क्षतिका सम्बन्धमा अपेक्षित जिम्मेवार देखिएनन् । सरकारले आफूले बनाएको सुरक्षाका उपाय आफैँले कार्यान्वयन गरेन । उपयुक्त सावधानी अपनाउन जोड दिएको भए कम्तीमा सुरक्षाकर्मीहरू नै यति धेरै संक्रमित पक्कै हुने थिएनन् । यसैले अब संक्रमण गाउँगाउँमा फैलन नदिन जनता स्वयंले सावधान हुनुपर्ने देखिन्छ ।