महन्थ ठाकुर आज दिल्ली जाँदै

१६ मंसिर २०७५, आईतवार १६:०८

काठमाडौं–

राष्ट्रिय जनता पार्टी राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर आज भारतको राजधानी दिल्ली जान लागेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली जान लागेका हुन् । राजपा नेपालमा आन्तरिक द्धन्द चलिरहेको बेला नेता ठाकुर दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिएको छ ।

अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो आएपछि राजपा नेपालमा विवाद उत्कर्षमा पुगेको हो । यसअघि महन्थ ठाकुर अध्यक्षमण्डलका संयोजक थिए । तर उनलाई बहुमतबाट हटाएपछि विवाद बढेको हो ।पार्टीभित्र विवाद बढेकै बेला उनी दिल्ली जान लागेका हुन् । उनी मंसिर १२ गतेनै दिल्ली जाने तयारी गरेका थिए तर टिकट नपाएपछि उनी आज जान लागेका हुन् । यसबीचमा पार्टीका अध्यक्षमण्डलका सदस्यको बीचका कुराकानी समेत गरिसकेका छन् ।

यसअघि उनी स्वास्थ्य उपचारका लागि साउन १३ गते गएर १८ गते फर्केका थिए । छोरी र ज्वाँईलाई साथमा लिएर स्वास्थ्य उपचारमा दिल्ली पुगेका उनी त्यतिबेला राजनीतिक भेटघाट पनि गरेका थिए । गृहमन्त्री राजनाथ सिंहदेखि सुरक्षा सल्लाहकार अजित डोभलसम्मलाई भेटेका थिए । उपचारमा संलग्न डाक्टरले ठाकुरलाई पुनः आउन भनेका थिए । सोहीअनुसार उनी दिल्ली जान लागेका हुन् । २०७४ चैत २७ गते दिल्ली गएका ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको थियो ।

केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनी दुई वर्षदेखि नियमित जाँच गराउन सकेका थिएन । जाँच गराउँदा ब्लड ब्लोकअप देखिएपछि अप्रेशन गरी स्टेन राखिएको हो । त्यसको फ्लोअपका लागि उनी दिल्ली जान लागेका हुन् । दिल्लीमा उच्च तहका नेतालाई भेट्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ । को कोसँग भेट्ने कहिले भेट्ने केही खुलाएको छैन ।