महन्थबिरुद्ध मोर्चाबन्दी

१९ कार्तिक २०७५, सोमबार १०:५७

काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपा नेपालको महाधिवेशन नजिकिएसँगै मोर्चाबन्दी र गुटगत राजनीतिक झाँगिदै गएको छ ।

सदस्यता वितरणमा विवाददेखि केही जिल्लामा अध्यक्षमण्डल र नेतृत्वका लागि विवाद शुरु भएको छ । छवटा दल मिलेर बनेको राजपा नेपालभित्र अहिले दलहरु अनुसारको गुटबन्दी शुरु भएको हो ।यही बीचमा राजपा नेपालमा रहेका अध्यक्षमण्डलभित्र संयोजक महन्थ ठाकुरबिरुद्ध मोर्चाबन्दी शुरु भएको छ । संयोजक ठाकुरले पछिल्लो समय पार्टीमा कसैसँग सल्लाह नगरी पदाधिकारी चयनदेखि लिएर राजनीतिक नियुक्तिहरु गर्न थालेपछि अध्यक्षमण्डलभित्र असन्तुष्टि बढेको छ । फलस्वरुप अध्यक्षमण्डलका अन्य सदस्यहरुले उनीबिरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् ।यसअघि ठाकुरको पक्षमा महेन्द्र राय यादव, राजकिशोर यादव, अनिल झा थिए । अहिले उनीहरुले पनि ठाकुरको साथ छाड्न थालेका छन् ।

महाधिवेशनको मिति तोकिसकेपछि अध्यक्ष ठाकुरले पार्टीमा विभिन्न पदाधिकारी चयन गरेका छन् । चारजना महासचिव र दुईजना सहमहाचिव चयन गरेकामध्ये अधिकांश आफ्नै पक्षका नेतालाई मात्र राखेको अध्यक्षमण्डलका एकजना सदस्यले भने। ‘यो बीचमा वहाँले पदाधिकारी चयन गर्नुभयो तर कसैसँग एकपटक पनि सल्लाह गर्नुभएन ।संयोजक ठाकुरले विनोद सिंह, जेपी ठाकुर, शशीकपुर मियाँ र पुरुषोत्तम झालाई पार्टीको महासचिवमा चयन गरेका छन् । उनीहरु चारैजना ठाकुर पक्षका हुन् । त्यस्तै, सहमहामन्त्रीमा प्रमेश्वर साह र कुमरनाथ मिश्रलाई चयन गरेका छन् । दुई जनामध्ये एक आफ्नै पक्षका हुन् ।

त्यति मात्र होइन, ठाकुरले प्रदेश २ का नीति आयोगमा तीनजना सदस्य सिफारिस गरेका छन् । जसमा सुरेन्द्र कुमार झा, राजकुमार लेखी र रामप्रवेश बैठा रहेका छन् । यी तीन जनामध्ये पनि संयोजक ठाकुरले दुईजना आफ्नो पक्षबाट राखेका छन् ।यसअघि उनले राज्यमन्त्रीहरु पनि नियुक्त गरेका थिए । त्यसमा पनि अन्य अध्यक्षहरुले असन्तुष्टि जनाएका थिए । किनभने तीनमध्ये दुई ठाकुर पक्षकै थिए ।

नियुक्तिबारे त्यसबेला निकै विरोध भएको थियो । विरोध बढेपछि ठाकुरले त्रुटीलाई अगामी दिनमा सुधार गर्दै जाने प्रतिवद्धता जनाएका थिए । तर, पछिल्लो समय उनले पुनः जथाभावी नियुक्तिहरु गर्न थालेपछि मोर्चाबन्दी शुरु भएको हो ।वैशाखमा हुने महाधिवेशनमा आफ्नो पकड बनाउनका लागि संयोजक ठाकुरले यस्तो गतिविधि गरेको अध्यक्षमण्डलका एकजना सदस्यले आरोप लगाएका छन् ।

संयोजक ठाकुरको यस्तो गतिविधिको बारेमा छलफल गर्न बर्दिवासस्थित पावन मिथिला होटलमा अध्यक्षमण्डलका चारजना सदस्यहरुको छुट्टै बैठक बसेको थियो । बैठकमा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादवको सहभागिता थियो ।