महजोडीलाई वसुन्धराश्री पुरस्कार

७ बैशाख २०७६, शनिबार १५:३०

काठमाडौैँ , वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।

हाँस्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हाँस्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हाँस्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हाँस्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका खातिर काम गरेको भन्दै अर्का वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यलाई सम्मानपत्रसहित रु ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।