मसानघाटकै जग्गा प्लटिङ

२८ माघ २०७६, मंगलवार ११:१६

बारा, बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ ।

कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाटसमेत बाँकी राखेन । उनीहरुले किर्ते गरेर मसानघाटको जग्ग प्लटिङ गरेको पाइएको छ । आयोजनासँगै बारा भित्रिएका भूमाफियाहरुले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गसमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ ।

बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर कित्ताको ६ बिघा ८ कट्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो । मसानघाट भनि उल्लेख भएको कित्ता नम्बर ५९ को ६ बिघा ८ कट्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरी भूमाफियाको उक्त कम्पनीले किर्ते गरेर प्लटिङ गरी बेचेको पाइएको हो ।

प्रोपर्टी म्यानेजमेन्ट प्रालिले उद्योगपति तथा वीरगन्ज महानगरका मेयर विजय सरावगी, एभरग्रिन तराई हस्पिटल, सुनिता अग्रवाललगायत व्यक्तिलाई बिक्री गरेको छ । बाँकी जग्गा भने कम्पनीका सञ्चालक इच्छाबहादुर वाग्लेको नाममा रहेको फिल्डबुकमा उल्लेख छ ।(आजको कारोबार दैनिकबाट)